‘राष्ट्रियता र प्रजातन्त्रप्रति कसैसँग सम्झौता गर्न सकिँदैन : मुख्यमन्त्री पाण्डे

1.17K
shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राष्ट्रियता र प्रजातन्त्र नेपाली कांग्रेसको लागि कसैसँग कम्प्रोमाईज गर्न नसक्ने सिद्धान्त रहेको बताएका छन् ।

मङ्गलवार पोखरामा ४९ औँ राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस एउटा प्रजातान्त्रिक शक्ति भएकाले राष्ट्रियता र प्रजातन्त्रप्रति कांग्रेसको लागि कसैसँग कम्प्रोमाईज गर्न नसक्ने सिद्धान्त रहेको बताएका हुन् ।

उनले भने,‘एउटा के बुझ्न र बुझाउन पर्नेछ भने कि कांग्रेस एउटा प्रजातान्त्रिक पार्टी हो । स्थापनाकालदेखि नै कांग्रेसले दुई वटा कुरा उठायो । नेपालको राष्ट्रियता र अर्को प्रजातन्त्र हो । राष्ट्रियता र प्रजातन्त्र नेपाली कांग्रेसको लागि कोही कसैसँग कम्प्रोमाईज गर्न नसकिने सिद्धान्त हो ।’

उनले गणतन्त्रपछि ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको प्रवर्द्धन र संरक्षण गर्नको लागि काँग्रेस र एमालेको संयुक्त सरकार बनेको बताए ।

मुलुकलाई राजनीतिक स्थिरता दिन नसक्दाको असर प्रजातन्त्र, संविधानमा,र गणतन्त्रमा देखिन थालेको कारण राजनीतिक स्थिरता दिनको लागि कांग्रेस र एमालेको संयुक्त सरकार बनाउन परेको उनको भनाई छ ।