‘मधेसी शक्तिहरुबीच सहकार्य हुनुपर्नेमा जोड’
वि.सं.२०८१ पुस १६ मंगलवार १८:५५
shares

काठमाडौं । मधेस मूलका नेताहरूले मधेसी राजनीतिक शक्तिहरू एक हुनुपर्नेमा जोड दिएका छन् ।
मङ्गलवार काठमाडौंमा मधेसी एकता समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मधेसी शक्तिमा सहकार्य आवश्यक रहेको औल्याएका हुन् ।
कार्यक्रममा बोल्दै नेता राजेन्द्र महतोले सारा मधेसीको चाहाना आजको दिनमा मधेसी शक्तिकोबीचमा एकता नै रहेको बताए ।
उनले केही समय अगाडि सम्पन्न आइपीएलमा जनकपुर बोल्र्टसका खेलाडीहरूमाथि धोती शब्दको प्रयोग गरी अपमान गरिएको भन्दै आपत्ति समेत जनाए ।
उनले भने,‘हाम्रो सारा मधेस आजको दिनमा मधेसी शक्तिकोबीचमा एकता चाहन्छ । कीर्तिपुरको क्रिकेट मैदानमा धोती याद दिलाइदिए । सन्देश त पूरै देशमा गयो नि । के अपराध थियो र ती युवाहरूको काठमाडौंमा खेल्न आए जित हासिल गरे । मधेसी नौ जवान भएकै कारण उसको बेइज्जत गर्न के जरुरी थियो र ?’
त्यस्तै अर्का नेता हृदयेश त्रिपाठीले मधेसी नेताको गल्तीको कारणले नै पछाडि परेको बताए ।
उनले भने, ‘हाम्रो नै केही मधेसी नेताको गल्तीको कारणले नै हामी पछाडि परेको हौँ । यो अवस्था आएको हो । हामी वञ्चित हुनु पुग्यौँ ।’
अहिले सही दिशा पहिल्याउन नसक्दा मधेस वास्तवमा नै गोल चक्करमा घुमिरहेको उनको भनाई छ ।











