नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीको आन्दोलनप्रति समर्थन छ : ट्रेड युनियन कांग्रेस
वि.सं.२०८१ पुस १७ बुधवार १५:२२
shares

काठमाडौं । संस्था लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड सञ्चालक रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी एवं स्वास्थ्यकर्मीहरू माग र आन्दोलनप्रति नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले समर्थन जनाएको छ ।
बुधवार ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले एक विज्ञप्तिमार्फत आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।
‘नेपालगन्ज मेडिकल कलेजमा क्रियाशील रहेका कर्मचारी संघ, कर्मचारी संगठन र स्वास्थ्यकर्मी युनियनको तर्फबाट संयुक्त रूपमा राखिएका मागप्रति यस महासंघको ध्यानाकर्षण भएको छ । नेपाल ट्रेड युनियन काँग्रेस संयुक्त रूपमा राखिएका उक्त माग प्रति ऐक्यबद्धता जाहेर गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
‘कर्मचारी आन्दोलन र आन्दोलनमा राखिएका मागका सम्बन्धमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत ध्यानाकर्षण भई प्रतिष्ठान, सरकारी अस्पताल, मेडिकल कलेज, सामुदायिक, निजी अस्पतालमा कार्यरत कर्मचारीहरूको न्यूनतम पारिश्रमिक, सेवा सुविधा, अतिरिक्त भत्ता, करार नियुक्ति तथा सम्झौताका विषयमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मिति २०८१/०८/२७ गते सचिव स्तरीय निर्णय समेत भइसकेको अवस्थामा नेपालगन्ज मेडिकल कलेजलाई सो निर्णय कार्यान्वयन गर्न र कर्मचारीहरूको मागको विषयमा व्यवस्थापन पक्ष र क्रियाशील कर्मचारी संघ, संगठन र स्वास्थ्यकर्मी युनियनको प्रतिनिधिका बीच वार्ता र छलफलको माध्यमबाट समाधान गरी सेवारत कर्मचारीहरूलाई सहज रूपमा काममा फर्कने वातावरण सिर्जना गर्न नेपाल ट्रेड युनियन काँग्रेस व्यवस्थापन पक्षसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै ट्रेड युनियन कांग्रेसले आइएलओ महासन्धिले प्रत्याभूत गरेको सामूहिक सौदाबाजीको हक र श्रमिकको माग पूरा गर्न हडताल गर्ने अधिकारलाई कुण्ठित गर्न नपाइने पनि जनाएको छ ।
‘आइएलओ महासन्धिले प्रत्याभूत गरेको सामूहिक सौदाबाजीको हक र श्रमिकका माग पुरा गर्न हडताल गर्ने अधिकारलाई कुण्ठित गर्ने मनसायका साथै श्रम ऐनको मर्म विपरीत श्रमिक तथा ट्रेड युनियनहरू माथि मुद्दा लगाई आन्दोलनमा जान वञ्चित गर्ने कार्यलाई कदापि न्यायोचित मान्न सकिँदैन र यो महासंघ यस्ता कार्यको घोर भर्त्सना गर्दै उक्त मुद्दा अविलम्ब फिर्ता लिई सरोकारवालाहरूसँग छलफल तथा सम्वादद्धारा समस्या समाधान गर्न यस महासंघ व्यवस्थापन पक्षसँग माग गर्दै सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छ,’ महाहसचिव राईले विज्ञप्तिमा भनेका छन् ।
करिब १ हजार ५ सय कर्मचारी रहेको सो शिक्षण अस्पतालमा विगत केही दिनदेखि विभिन्न ५४ बुँदे माग राखेर कर्मचारीहरू आन्दोलनरत छन् । आन्दोलनरत कर्मचारीले अस्पतालको ओपिडी समेत ठप्प पारेर आन्दोलन चर्काउँदै आएका छन् । उनीहरूको आन्दोलनका कारण दैनिक ८ सय बिरामीहरू सेवा लिन वञ्चित भएको अस्पताल प्रशासन दाबी गरेको छ ।













