राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन-२०८१ फागुन १६ र १७ मा
वि.सं.२०८१ पुस १७ बुधवार १५:३०
shares

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ फागुनमा गर्ने भएको छ । बुधवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेले आउने फागुन १६ र १७ गते काठमाडौंमा पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएका हुन् ।
आन्तरिक र वैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीहरूको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने र श्रम तथा रोजगार योग्य वातावरण सिर्जनाका लागि अन्तर–तह/अन्तर–निकाय समन्वय र सहकार्य स्थापना गर्ने सम्मेलनका प्रमुख उद्देश्य रहेको उनले जानकारी दिए ।
उनले भने, ‘उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कार्य योजना उपर पृष्ठपोषण लिने, आन्तरिक र वैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीहरूको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने र श्रम तथा रोजगारयोग्य वातावरण सिर्जनाका लागि अन्तर-तह/अन्तर–निकाय समन्वय र सहकार्य स्थापना गर्ने यो सम्मेलनका प्रमुख उद्देश्य रहनेछन् ।’
उनले वैदेशिक रोजगार ऐनको परिमार्जन, राष्ट्रिय व्यावसायिक सीप विकास प्रतिष्ठानको परिमार्जन र सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार बोर्डको सुधारका लागि मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदनउपर समेत यस सम्मेलनबाट प्राप्त सुझावलाई आगामी आन्तरिक रोजगार प्रवर्द्धन दश वर्षे रणनीतिक योजनामा समावेश गरिने पनि जानकारी दिए ।
उनका अनुसार रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता ÷ विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी यो सम्मेलनमा ५ सय जनाको सहभागिता रहनेछ ।
साथै, स्थानीय तहका जनप्रतिनिधि, रोजगार सेवा केन्द्रका कर्मचारी तथा अन्य सरोकारवालालाई भर्चुअल माध्यमबाट सहभागी गराउन सकिने पनि जनाइएको छ ।













