पुस्तक नीति बनाउने कार्यमा यथोचित सहयोग रहने छ : मन्त्री पाण्डे

1.26K
shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पुस्तक नीति बनाउने कार्यमा आफ्नो सक्रिय रूपमा योगदान रहने बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय किताब प्रदर्शनी मेलाको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘पुस्तक प्रदर्शनीले असल मार्गमा डोर्‍याउँछ । यसले सकारात्मक प्रेरणा प्रदान गर्नुका साथै ज्ञानको मार्गलाई अगाडि बढाउने गर्दछ । नेपालमा हालसम्म पुस्तक नीति समेत बनेको छैन । पुस्तक नीति बनाउने सन्दर्भमा मेरो यथोचित सहयोग रहने छ ।’

उनले असल पुस्तकले मस्तिष्कलाई स्वस्थ बनाउने भएकाले पनि पुस्ततकको महत्त्व रहेको उल्लेख गरे ।

उनले कोभिड महामारी र डिजिटल प्रविधिका कारण पुस्तक पठनमा केही असर परेको भए पनि बिस्तारै लयमा फर्किएको समेत बताए ।
मन्त्री पाण्डेले सकारात्मक दिशा पक्रन र ज्ञान लिनका लागि पुस्तकको महत्त्व दिनानुदिन बढेको स्मरण गर्दै पुस्तक अध्ययनकै कारण संसारका विद्वान् दार्शनिकहरूले विचार प्रतिपादन गरेको बताए ।

उनले नयाँ पुस्तालाई पठन संस्कृतिको विकास गर्ने धेयका साथ सुरु भएको पुस्तक प्रदर्शनीले संस्कृति र पर्यटनका क्षेत्रमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनले पुस्तक बोकेर हिँड्ने मानिसले एउटा विचार बोकेको बताउँदै पुस्तक मार्फत समाजलाई सुसूचित मार्गमा समेत डोर्‍याउने बताए । पुस्तक प्रदर्शनी मेलामा नेपाल, भारत, चीन लगायतका दक्षिण एसियाका विभिन्न देशहरूको स्टलहरू रहेका छन् ।