अब ऐन र नियमावली भन्दा अरू कुरालाई हामीले निर्माण गरेर काम नगरौँ : मन्त्री भट्टराई

1.18K
shares

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले ऐन र नियमावली भन्दा अरू कुरालाई निर्माण गरेर काम नगर्न आग्रह गरेकी छन् । बुधवार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले ऐन र नियमावली भन्दा बाहिर जाँदा कामहरूमा राम्रो परिणाम दिन नसकेको बताएकी हुन् ।

उनले भनिन्, ‘ धेरै कुराहरू मैले सुझावको रूपमा लिएको छु , हामीले यो निर्देशिका, मापदण्ड कार्यविधीहरु एकदमै धेरै नै भयो । सबैले भन्नुभयो अब ऐन र नियमावली भन्दा अरू कुरालाई हामीले निर्माण गरेर काम नगरौँ, जसले दुई वटा समस्या हुने भयो, एउटा चाहिँ ऐन र नियमावलीमा के छ ? भन्ने कुरा नहेरीकन तत्कालिक आवश्यकताका आधारमा कार्यविधि बनाउने, निर्देशिका बनाउने ,मापदण्ड बनाउने, अर्को कुरा त झन् त्यो बनाउनैको लागि समय खर्चिने अनि कार्यान्वयन गर्ने बेलासम्म बनाउने बसिरहने अवस्थाले परिणाम दिन सकेन।’

यसै गरी राष्ट्रिय परीक्षा बोर्डलाई मजबुत बनाउनुपर्ने बताइन् । उनले विद्यार्थीहरूको परीक्षालाई चुस्त दुरुस्त बनाउन राष्ट्रिय बोर्डलाई मजबुत बनाउनुपर्ने बताएकी हुन् ।

उनले भनिन् , ‘तीन वटा परीक्षा बोर्डहरूमध्ये परीक्षालाई चुस्त दुरुस्त बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई मजबुत बनाउनुपर्छ । राष्ट्रिय परीक्षा बोर्ड १२ कक्षामा मात्र लिने गरी जानुपर्छ, अरू हामी १० कक्षासम्मको प्रदेशलाई नै हस्तान्तरण गर्नुपर्ने सोचेका छांै, यसका विषयमा विधेयकमा छलफल भइराखेको छ । ’