बाह्रै महिना मेलम्चीको पानी बन्द हुनेछैन : मन्त्री यादव

1.03K
shares

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले आगामी वर्षदेखि वर्षातको समयमा पनि मेलम्चीको पानी बन्द नहुने गरी काम भइरहेको बताएका छन् ।

बिहीबार मन्त्रालयमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा मन्त्री यादवले प्रत्येक वर्ष वर्षातको समयमा मेलम्चीको पानी बन्दै गरिँदै आएको भए पनि आगामी वर्षदेखि बन्द नगरी काठमाडौँ उपत्यकाका नागरिकलाई बाह्रै महिना शुद्ध पानी खुवाउने गरी काम भइरहेको बताए ।

उनले भने,‘विगतका वर्षमा वर्षा सुरु हुने बित्तिकै मेलम्चीबाट आउने पानी बन्द हुने गर्थ्यो, अब हामीले वर्षातको समयभरि नै मेलम्चीको पानी सुचारु गर्ने गरी काम सुरु गरेका छौँ । आउँदो वर्षबाट बाह्रै महिना नै मेलम्चीको पानी वितरण गर्ने प्रणालीको विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ । अब वर्षातको समयमा मेलम्चीको पानी बन्द गरिने छैन ।’

मन्त्री यादवले अहिले पनि नेपालका विभिन्न जिल्लाका नागरिकले डोकोमा पानी बोक्नुपर्ने अवस्था कायमै रहेकाले नागरिकले खानेपानी डोकोमा बोकेर जोहो गर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि मन्त्रालयले ठोस कदम चालिरहेको बताए ।

उनले भने,‘म नेपालका तराई, पहाड र हिमाली जिल्लाका बिकट बिकट गाउँ बस्तीमा पुगी सकेको छु । कतिपय गाउँ त पानीका लागि बसाइँ सराइँ गर्नु पर्ने अवस्थामा छन् । ती क्षेत्रहरूका नागरिकका लागि शुद्ध खानेपानीको व्यवस्था गर्न म ठोस कदम चाल्दै छु ।’

काठमाडौँ उपत्यकासहित देशभरिका नागरिकलाई शुद्ध अनि सफा पानी वितरण गर्नका लागि मन्त्रालयले पछिल्लो समय खानेपानीका थुप्रै आयोजनाहरू अघि सारेको बताउँदै यादवले भने,नागरिकलाई शुद्ध पानी खुवाउन मन्त्रालयले थुप्रै खानेपानीका आयोजनाहरू अघि सारेको छ । मेलम्ची नजिकै रहेको अर्को खोलाको पानी काठमाडौँ ल्याउने विषयमा पनि अध्ययन सुरु भएको छ । सबैको पहुँचमा शुद्ध पानी पु¥याउँछु ।’

सोही क्रममा मन्त्री यादवले हाल मेलम्चीबाट आइरहेको खानेपानी कुनै कारणवश बन्द भएमा अथवा बन्द गर्नु पर्ने अवस्था आइपरे मकवानपुरको सिस्नेरी खोलाबाट १४ करोड लिटर पानी ललितपुरमा ल्याएर नागरिकलाई वितरण गर्नका लागि पनि गृहकार्य भइरहेको पनि जानकारी दिए ।

उनले भने,हाल सम्म मेलम्चीको विकल्प मेलम्ची नै हो तर केही कारण बस मेलम्चीको पानी बन्द भएमा सिस्नेरी खोलाबाट १४ करोड लिटर पानी ललितपुरमा ल्याएर पनि नागरिकलाई वितरण गर्ने गरी काम गर्दै छौँ ।’

देशका अधिकांश ठाउँमा अहिले पनि खानेपानीको सहज पहुँच नरहेकाले ती स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घरघरमा धारा र सबै नागरिकमाझ स्वच्छ, सफा खानेपानी पु¥याउन योजनावद्ध ढङ्गले काम गरिरहेको मन्त्री यादवले जानकारी दिए ।

जलस्रोतको क्षेत्रमा नेपाल धनी मुलुक हुँदा हुँदै पनि यहाँका नागरिकले पानीका लागि आन्दोलन गर्नु पर्ने अनि पिठ्युँमा बोकेर खानेपानीको जोहो गर्नु आफैमा दुःख कुरो भएको उनको गुनासो छ । उनले भने,‘जलस्रोतको क्षेत्रमा धनी देशमा पानी देउ सरकार भन्दै आन्दोलन गर्नु अनि पिठ्युँमा खानेपानी बोकेर जोहो गर्न लाजमर्दो कुरा हो ।’

जलवायु परिवर्तनले तराईमा पानी सुक्दै गएको र पहाड, हिमाली क्षेत्रमा जनताले पिठ्युँमा खानेपानी बोकेर जोहो गर्नु परेको र समस्या समाधान गर्न निकै चुनौती पूर्ण रहेकाले त्यसको समस्या समाधानका लागि खानेपानीका आयोजना सञ्चालनमा पर्याप्त बजेट व्यवस्था गरी खानेपानीको समस्या दीर्घकालीन रूपमा अन्त्य गर्नु पर्ने उनको भनाई छ ।