अवैध सामानसहित पिकअप भ्यान प्रहरी नियन्त्रणमा

1.09K
shares

काडमाडौं । रौतहट प्रहरीले अवैध किराना सामानसहित पिकअप भ्यान र चालकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको गस्ती टोलीले बुधवार गौरस्थित बसपार्क नजिकै चेकजाँचको क्रममा अवैध सामानसहितको उक्त पिकअप गाडी नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार प्रदेश २ ००१ च ४००० नम्बरको पिकअप भ्यानमा भन्सार छलेर ल्याएको सामान बरामद गरिएको छ ।

सीमावर्ती बजार बैरगनिया बाट २ लाख ७१ हजार ९०० मूल्य बराबरको चीनी, मैदा, धनियाँ, रिफाइन तेल, सेवई, सुपारी बोकेको पाइएको उनले जानकारी दिए ।

बरामद गाडी र सामानको कुल ९ लाख ७१ हजार ९०० रुपैयाँ मूल्याङकन गरी जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख छ ।
पिकअप चालक गौर नगरपालिका ८ का दिनेश राउत बरै सँग आवश्यक सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा जिल्ला स्थित तस्करी नियन्त्रण गर्न प्रहरीले सक्रियता देखाएको छ ।

नेपाल भारत सीमा क्षेत्रमा पर्ने बन्जरहा, औरैया, मन्सरी, रामपुरखाप, बंकुल नाकाबाट दिनहुँ भारतीय सामग्रीहरूको चोरी निकासी हुने गर्दछ ।

तस्करहरूको बढ्दो सक्रियताले यस क्षेत्रमा तस्करीमा तीव्रता आएको जनगुनासो आएपछि निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।