प्राथमिकताका साथ काम गर्न सके नेपालको सबै भाग पर्यटन गन्तव्य बन्न सक्छ : मन्त्री पाण्डे
वि.सं.२०८१ पुस १९ शुक्रवार १६:१०
shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले प्राथमिकताहरूको पनि प्राथमिकिकरण गर्ने क्रम सुरु गर्नुपर्ने बताएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको बैठकमा उनले नेपालको सबै भाग पर्यटन गन्तव्य बन्न सक्ने भन्दै जहाँ आवश्यकता छ त्यही अनुसार काम गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘पर्यटन बोर्डमा दैनिक रूपमा दर्जनौँ प्रस्तावहरू जाने गर्छन् जुन त्यो बोर्डको हैसियत भन्दा माथि छ । त्यसकारण हामी सबैले प्राथमिकताहरूको प्राथमिकिकरण गर्ने क्रम सुरु नगर्ने हो भने हामीले समस्यामा फसिसकेको अवस्थामा छौँ । नेपालको कुन त्यस्तो टाकुरा, जमिन र भूगोल छैन जहाँ पर्यटन गन्तव्य बन्न सक्दैन । त्यस्तो ठाँउहरुलाई प्राथमिकिकरण कसरी गर्ने भन्ने बारेमा हामी सबैको ध्यान जानुपर्छ । त्यो दिशामा पर्यटन बोर्डले आफूलाई अगाडी बढाउँछ जस्तो लाग्छ ।’
उनले पर्यटन बोर्ड पर्यटन क्षेत्रको सृजनशील निकायको रूपमा रहे पनि जनशक्तिको अभावका कारण शाखा विस्तार गर्न कठिनाइ भएको बताए ।
उनले भने, ‘पर्यटन बोर्डलाई हामीले पर्यटन क्षेत्रको सृजनशील निकायको रूपमा लिएका छौँ । यसले सिर्जनात्मक तरिकाले काम गर्नुपर्छ । पर्यटन बोर्डको शाखा विस्तार गर्ने कुरामा पोखरामा एउटा शाखा छ तर जनशक्तिको अभावले अन्य ठाउँमा शाखा विस्तार गर्नको लागि कठिनाइ देखिन्छ । यस विषयमा छलफल गर्नुपर्नेछ ।’
आगामी दिनमा हवाई, संस्कृति र पर्यटन नीति र नीति अनुसारका कानून बनाउने तयारीमा मन्त्रालय रहेको पनि उनको भनाई छ ।
बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल र नेपाल पर्यटन बोर्डको कार्यसम्पादन स्थिति सम्बन्धी छलफल भएको छ ।












