संसद् अधिवेशन आह्वानका लागि माओवादीले सरकारलाई दबाब दिने

1K
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय संसद्को अधिवेशन आह्वान नभए सरकारलाई दबाब दिने जनाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रवार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले नियतवश संघीय संसद्को अधिवेशन आह्वान नगरेको भन्दै संसदमा रहेका सबै दलसँग छलफल गरेर दबाब सिर्जना गर्ने बताएका छन् ।

उनले संसद छलेर सरकारले दलविभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको आरोप लगाए । सापकोटाले चाँडो भन्दा चाँडो संसद्को अधिवेशन आह्वान गर्न सरकारलाई आग्रह समेत गरे ।

बैठकमा ३० जना स्थायी कमिटी सदस्यले अध्यक्ष प्रचण्डले मौखिक रूपमा राख्नुभएको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्नुभएको प्रवक्ता सापकोटाले बताए ।

उनीहरूले समसामयीक परिस्थिति, पार्टी रूपान्तरण, अहिलेको सरकारको क्रियाकलापका बारेमा, संविधान संशोधनका बारेमा धारणा राखेको उनले बताए ।

समाजवादी विचारधारको विकासका लागि , सबै पालिकाहरूमा समाजवादका आधारशिला खडा गर्ने गरी तयारी गर्नुपर्नेमा नेताहरूको जोड गरेको सापकोटाले जानकारी दिए ।

बैठकमा प्रचण्डले देशका सबै तहका जनतामाझ पुगेर समस्या बुझ्ने गरी विभिन्न अभियान सञ्चालन गर्ने र त्यसमा अध्यक्षसहित सबै केन्द्रीय नेताहरू समेत सहभागी हुने बताएका हुन । स्थायी कमिटी बैठक शनिवार पनि बस्ने प्रवक्ता सापकोटाले बताए । पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको तयारीका लागि माओवादीको स्थायी कमिटीको बैठक निरन्तर बसिरहेको छ ।