‘रचनाको प्रतिलिपिहरू व्यवस्थित ढंगले नियन्त्रण हुन नसक्दा स्रष्टाहरू निरुत्साहित’

1.24K
shares

काठमाडौं । नेपाल बौद्धिक सम्पत्ति संरक्षण समाजले आफ्नो बाह्रौँ वार्षिक साधारण सभा मनाएको छ । शुक्रवार काठमाडौंमा आयोजित समाजको बाह्रौँ वार्षिक साधारणभामा महासचिव अम्बर बहादुर थापाले कार्य प्रगति र चालु आ.व.को कार्यक्रमबारे प्रतिवेदन प्रस्तुत गरेका छन् ।

उनले रचयिताको जीवन भर र निजको मृत्यु भएकोमा, मृत्यु भएको वर्षबाट पचास वर्षसम्म संरक्षित रहने व्यवस्था भएता पनि संरक्षित अधिकारको उल्लङ्घन गरी आर्थिक लाभ उठाई रचना वा ध्वनिका प्रतिलिपिहरू उत्पादन गरी बिक्री वितरण गर्ने कार्यहरू भइरहेको बताए ।

यसको नियन्त्रण व्यवस्थित ढंगबाट हुन नसक्दा स्रष्टाहरू निरुत्साहित भएको उनको भनाई छ ।

उनले भने, ‘कुनै पनि रचनालाई प्रतिलिपि अधिकारको संरक्षण प्राप्त हुन्छ । रचयितालाई प्राप्त आर्थिक र नैतिक अधिकार रचयिताको जीवन भर र निजको मृत्यु भएकोमा मृत्यु भएको वर्षबाट पचास वर्ष सम्म संरक्षित हुन्छ । तर पनि संरक्षित अधिकारको उल्लङ्घन गरी आर्थिक लाभ उठाई व्यापारिक वा अन्य कुनै उद्देश्यले आफ्नो हक नपुग्ने रचना वा ध्वनि अङ्कनका प्रतिलिपिहरू उत्पादन गरी बिक्री वितरण गर्ने कार्यहरू भई आएको पाइन्छ । सो मा नियन्त्रण हुन सकेको छैन भने रोयल्टीको व्यवस्था पनि व्यवस्थित हुन् नसकेको हुँदा स्रष्टाहरू उत्साहित रहन सकेका छैनन् ।’

त्यस्तै बौद्धिक सम्पत्ति ऐनको मस्यौदा अहिलेसम्म पनि संसदबाट पारित हुन नसकेको उनले गुनासो गरे ।

उनले भने, ‘बौद्धिक सम्पत्ति ऐनको मस्यौदा २०७६ सालमा अन्तिम चरणमा पुगेर हालसम्म पनि संसदबाट पारित हुन सकेको छैन । यस क्षेत्रमा संलग्न हर व्यक्ति एवं संस्थाको चासो रहेको छ, उद्योग विभाग तथा उद्योग मन्त्रालय पनि ऐन आइदिए हुन्थ्यो भन्ने मा नै रहेका छन् तर आउन सकेको छैन ।’