बैतडीमा १५ वर्षीया किशोरीले जन्माइन् जुम्ल्याहा सन्तान, हुर्काउन समस्या
वि.सं.२०८१ पुस २१ आइतवार १२:१५
shares

बैतडी । बैतडीमा १५ वर्षीया किशोरीले जुम्ल्याहा सन्तान जन्माएकी छिन् । जिल्लाको पाटन नगरपालिका–९ किचार बस्ने दिपा लावडले १५ वर्षकै उमेरमा डडेलधुरा अस्पतालमा दुई जुम्ल्याहा छोरालाई जन्म दिएकी हुन् ।
१४ वर्षको उमेरमा बाल विवाह गरेकी दिपाले कलिलो उमेरमै बच्चा पाएकी हुन् । उनका श्रीमान् १८ वर्षका छन् ।
पढ्ने तथा खेल्ने उमेरमै दिपा लावडले अब बच्चा हुर्काउने भएकी छन् । तर, आर्थिक अवस्था कमजोर भएका कारण जुम्ल्याहा सन्तान कसरी हुर्काउने भनेर दिपा लावडमा कलिलो उमेरमै चिन्ता थपिएको छ ।
काठमाडौं महानगरपालिका–१४ कलङ्की घर भएका समाजसेवी सहदेव प्रसाद सापकोटाले लावडको परिवारलाई न्यानो लुगा, खाद्यान्नका सामाग्री र नगद १० हजार रुपैयाँ सहयोग गरेका छन् ।
पाटन नगरपालिका–९ का सामुदायिक मनोसामाजिक कार्यकर्ता लक्ष्मी बिष्ट, वडा नं ८ का मनोसामाजिक कार्यकर्ता भुवी विष्ट र जिल्ला अस्पताल बैतडीको एकद्धार सङ्कट व्यवस्थापन केन्द्रका मामला व्यवस्थापक माया भट्ट सहितको टोलीले सो रकमसहित न्यानो लुगा र खाद्यान्नको सामान शनिबार दिपाको घरमै पुगेर हस्तान्तरण गरेका हुन् ।
यसअघि पनि सापकोटा आफूले सहयोग उपलब्ध गराएको परिवारको अवस्था बुझ्न बैतडी पुगेका थिए ।











