निजामती विधेयकभित्र ट्रेड युनियनको विषय सामान्य : प्रमुख सचेतक बर्तौला

2.08K
shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संघीय निजामती विधेयकमा ट्रेड युनियनको विषय ठुलो विषय नभएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यति सानो विषयलाई ठुलो बनाएर अन्य विषयलाई ओझेलमा पार्ने प्रयास ट्रेड युनियनका नेताहरूबाट भएको भन्दै आक्रोश व्यक्त गरे ।

उनले भने, ‘संघीय निजामती विधेयकभित्रको ट्रेड युनियनको विषय भनेको निकै सानो विषय हो । तर यसलाई सबैभन्दा ठुलो विषय बनाएर अन्य विषयलाई ओझेलमा पार्ने प्रयास अहिलेका ट्रेड युनियनका साथीहरूले गरिरहनु भएको छ । यो ठिक भएन । ट्रेड युनियनको कानुन र अधिकारको कुरालाई यति धेरै बलशाली तरिकाले उठाउनुपर्ने अवस्था थिएन । यो विषय सांसदहरूको तर्फबाट उठेको होइन, ट्रेड युनियनको आन्दोलनमा लागेका साथीहरूका तर्फबाट बढी उठेको हो यसरी उठ्नुपर्ने कुनै आधार देख्दिन ।’

यसको साथै, उनले संसद्मा वा संसदीय समितिमा सांसदहरूले उठाएका विषयमा अदालतले पनि प्रश्न उठाउन नमिल्ने भन्दै ठुलो ट्रेड युनियनको रूपमा रहेको युनियनका अध्यक्षले धम्कीपूर्ण रूपमा विज्ञप्ति निकाल्नु गलत भएको बताए ।

उनले भने, ‘संसद्मा वा संसदीय समितिमा सांसदहरूले उठाएका विषय अदालतको पनि मसला बन्न सक्दैँन् । अदालतमा पनि प्रश्न उठाउन पाइदैँन् । तर बोलेर बाहिर नआउँदै मिडियाको हेडलाइनलाई आधार बनाएर नेपालको सबैभन्दा ठुलो ट्रेड युनियनको रूपमा रहेको युनियनको अध्यक्षले हस्ताक्षर गरेर जे विज्ञप्ति निकाल्नुभयो त्यो धम्कीपूर्ण रूपमा थियो । त्यो गलत कुरा हो । सांसदले बोलेको कुरालाई केन्द्रित गरेर विज्ञप्ति निकाल्ने र चेतावनी दिने कुरा बेठिक हो ।’

सरकारले महत्त्व दिएर अगाडि बढाएको विधेयकमाथि यस्तो प्रश्न उठ्नु राम्रो नभएको भन्दै राम्रो काम गर्न खोज्दा पनि गलत भएको उनको भनाई छ ।

सरकारको नेतृत्व गरिरहेको एमाले, सत्तारुढ कांग्रेस, प्रमुख प्रतिपक्षी माओवादी केन्द्र र मधेस केन्द्रित राजनीतिक दलका भातृ सङ्गठनका रूपमा रहेका कर्मचारी ट्रेड युनियनका अध्यक्षहरूले शुक्रबार विज्ञप्ति जारी गरेर संसदीय समितिमा धारणा राख्ने दलका प्रमुख सचेतक र सचेतकहरूलाई चेतावनी दिएका थिए ।