नयाँ पाइपलाइन बिच्छाएका ठाउँमा चाँडै मेलम्चीको पानी पुग्छ : मन्त्री यादव

1.17K
shares

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा पछिल्लो समय खानेपानीको नयाँ पाइप लाइनहरू बिच्छाइएका ठाउँहरूमा चाँडै मेलम्चीको शुद्ध पानी वितरण गरिने बताएका छन् ।

आइतबार मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री यादवले काठमाडौंका अधिकांश ठाउँहरूमा खानेपानीको नयाँ पाइपलाइन बिछाउने कार्य करिब करिब अन्तिम चरणमा पुगेकाले चाँडै नै ती लाइनहरूबाट मेलम्चीको शुद्ध पानी वितरण गरिने बताएका हुन् ।

उनले भने, ‘नयाँ पाइपलाइन बिस्तारको कार्य करिब करिब सकिएर अहिले परीक्षणको काम हुँदै छ । केही दिन धैर्य गर्नुस् नयाँ पाइप लाइन बिस्तार भइरहेका ठाउँमा म आफैँ अनुगमनका लागि खटिँदै आएको छु । अब सबैको घरघरमा नयाँ पाइप लाइनबाट मेलम्चीको पानी पठाउने छाँै ।’

सोही क्रममा मन्त्री यादवले एक महिला भित्र काठमाडौँ उपत्यका भित्र जहाँ जहाँ नयाँ पाइप लाइन बिस्तार गरिएको छ । त्यो क्षेत्रमा मेलम्चीको पानी वितरण गरिने दाबी समेत गरे ।

यसैगरी मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीको पाइप लाइनबाट पानी चुहावट हुने कार्य तत्काल नियन्त्रण गर्नका लागि मातहतका निकायहरूलाई निर्देशन दिएको बताए ।

सञ्चारकर्मीहरूसँगकै कुराकानीमा मन्त्री यादवले सडक मर्मत एवं निर्माण गर्ने क्रममा अधिकांश ठाउँमा खानेपानीको पाइपहरू भत्काइएका र फुटाइएका भए पनि सम्बन्धित निर्माण कम्पनी र कार्यालयले मर्मत नगरिदिँदा काठमाडौँ उपत्यकामा खानेपानी वितरण प्रक्रियामा निकै कठिनाइ उत्पन्न भएको गुनासो गरे ।