संविधान बदल्ने होइन, संशोधन गर्ने हो : प्रदीप ज्ञवाली

1.17K
shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशका समग्र समस्याहरूलाई संविधान संशोधनमार्फत गर्ने प्रयास भइरहेको बताएका छन् ।

मङ्गलवार काठमाडौंमा आयोजित संविधान संशोधन माथि बौद्धिक बहस खोजपत्र प्रस्तुत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकमा क्रान्तिले जगाएको अपेक्षा र अहिलेको डेलिभरीकाबीचमा भएको ठूलो अन्तरले मुलुकमा समस्याहरू आइरहेको बताए ।

उनले भने, ‘मुलुकमा अहिले धेरै समस्या छन् । क्रान्तिले जगाएको अपेक्षा र अहिलेको हाम्रो डेलिभरीकोबीचमा ठूलो अन्तर छ । सबै समाधान संविधान मार्फत नै होस् भनेर संविधान संशोधन गर्न खोजिरहेको छौँ । के कारणले आजको समस्या आएको छुट्याउन पर्नेछ । कति संविधानका अन्तर्निहित कमजोरीका कारणले भएको छन् र कति चाहिँ संविधानभित्र अभ्यास गर्ने पात्र, संस्था र प्रवृत्तिहरूका कारणले समस्या आएको छ । त्यसलाई हेर्न आवश्यक छ ।’

त्यस्तै उनले सबै कुराको समाधान संविधान संशोधनमा खोज्ने र समाधान भएन भने संविधान नै बदल्ने सोचले कहीँ पुग्न नसकिने धारणा राखे ।

उनले भने,‘सबै कुराको समाधान संविधानमा खोज्ने, संविधान संशोधनमा खोज्ने र त्यो समाधान भएन भने चाहिँ संविधान नै बदल्नतिर लाग्ने तरिकाले चाहिँ कहीँ पुग्दैनौँ जस्तो मलाई लाग्छ ।’

सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले स्थानीय तहमा पार्टीले समर्थन गर्न पाइने तर पार्टीको चिन्ह प्रयोग गर्न नपाइने खालको निर्वाचन पद्धति निर्माण गर्नुपर्ने धारणा राखे । देशभरि कांग्रेस एमाले माओवादी र मधेस केन्द्रित दलहरूको प्रभुत्वको कारणले संघीयता विकास हुन नसकेको उनको भनाई छ ।

उनले भने, ‘स्थानीय तहलाई यही रूपमा लाने हो भने पार्टीले समर्थन गर्न पाइने तर पार्टीको चिन्ह प्रयोग गर्न नपाइने खालको निर्वाचन पद्धति हुनुपर्छ । त्यो भयो भने मानिस अलिकति भए पनि केही हदमा स्वतन्त्र हुन्छ । देशभरि कांग्रेस एमाले माओवादी र मधेस केन्द्रित दलहरूको प्रभुत्वको कारणले संघीयता स्वाभाविक रूपमा विकास हुन नसकेको हो ।’

त्यस्तै उनले अहिले कारोबारी राजनीति भइरहेको भन्दै यसबाट ननिस्कँदासम्म संविधान संशोधन गर्न नसकिने बताए । कारोबारी मानसिकतामा संविधान संशोधनमा हात हालेका संविधानमा आगो लाग्ने उनको भनाइ छ ।