बाग्मती कार्ययाजना प्रकृतिमैत्री रूपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह
वि.सं.२०८१ पुस २३ मंगलवार १४:५७
shares

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती कार्य योजना प्रकृतिमैत्री रूपमा अघि बढाउने बताएका छन् ।
मंगलबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नगर प्रमुख एवं उपप्रमुखहरुसँग प्रस्तावित बागमती कार्ययोजनामाथी छलफल कार्यक्रममा बोल्दै उनले अबका योजनाअनुसार प्रकृतिमैत्री रूपमा अघि बढाउनुपर्ने बताए ।
उनले भने, ‘बाग्मती कार्य योजना टुटेको थियो । फेरि यसलाई निरन्तरता दिएका छौँ । बाग्मती कार्य योजना प्रकृतिमैत्री रूपमा अगाडि बढाउँछौँ, प्रकृतिमैत्री प्रविधिको उपयोग गर्नुपर्छ, यहाँको वातावरण सहुाउनेगरि योजना अघि बढाउँछौँ । कार्य योजनामा छलफलमा आएका सुझावहरू समेटेर, सरोकारवालाहरूसँग छलफल गरेर अन्तिम रूप दिन्छौँ ।’
उनले छलफलमा उपत्यकाका नगर प्रमुख र उपप्रमुखबाट महत्त्वपूर्ण सुझावहरू आएको पनि बताए ।
बागमती कार्ययोजनाले बागमती नदी प्रणालीमा रहेका १७ वटा अरू नदिको समेत अध्ययन गरी प्राकृतिक संरक्षण क्षेत्र, ग्रामीण क्षेत्र, उपशहरी क्षेत्र, शहरी क्षेत्र र तल्लो क्षेत्र गरी ५ भागमा वर्गीकरण गरेर अध्ययन गर्नेछ ।
२० वर्षे कार्ययोजनाको लागत अनुमान २ खर्ब २५ अर्ब ३१ करोड १६ लाख रहेको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिए । शहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता योजनाले बागमती कार्य योजना २०२४–४४ माथि छलफल आयोजना गरेको हो ।
छलफलमा काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले कार्य योजना सकारात्मक रहेको भन्दै हरियाली जोगाउने गरी प्रकृतिमैत्री रूपमा योजना अघि बढाउनुपर्ने बताए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोल, शंकरापुर नगरपालिकाकी उपप्रमुख समिता श्रेष्ठ,तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरी महर्जन, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारी, गोदावरी नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारी, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन लगायतको सहभागिता थियो ।
नगर प्रमुख र उपप्रमुखले बाग्मती करिडोरलाई व्यवस्थित गर्ने, हरियाली कायम गर्नेगरि कार्य योजना बनाउनुपर्नेमा जोड दिएका थिए ।













