हामीले खाने बिहान बेलुकीको खाना आयात गरेर खान नपरोस् : मन्त्री अधिकारी

1.01K
shares

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बिहान बेलुकीको खाना आयात गरेर खान नपरोस् भन्ने उद्देश्य मन्त्रालयले बोकेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कृषि अनुदान, रासायनिक मल एवं धानको उत्पादन आ.व २०८१/८२ को विवरण सार्वजनिकीकरण कार्यक्रममा उनले नेपालमा निर्यात गर्न सक्ने क्षमता रहेको भन्दै आयातको भरमा बाच्न नहुने बताएका हुन् ।

उनले भने, ‘हाम्रो उद्देश्य भनेको आयात गर्न नपरोस् भन्ने हो । हामी यो मन्त्रालयमा बसी रहँदा हामीले खाने बिहान बेलुकीको खाना आयात गरेर खान नपरोस् भन्ने उद्देश्य मन्त्रालयले बोकेको छ । कति उत्पादन गर्छ होइन, कम्तीमा बाहिरबाट ल्याएर खान नपरोस् भन्ने उद्देश्य मन्त्रालयले राखेको छ । आयातको भरमा बाच्न हुँदैन निर्यात गर्न सक्ने क्षमता हामीसँग छ र त्यो राखौँ भन्ने उद्देश्य हामीले राखेका छौँ ।’

यसको साथै, उनले धान, मकैजस्ता वस्तुको उत्पादन वृद्धि हुनु कृषकहरूको मेहनत भएको भन्दै यसलाई हाम्रो उपलब्धि भन्न नमिल्ने बताए ।

उनले भने, ‘कृषि कर्म गर्ने मान्छेले राम्रो तरिकाबाट कृषि कर्म गरिदिनुभयो त्यस कारण धान र मकैको उत्पादन वृद्धि भयो यो कुरा सही हो । हामीले हाम्रो कारणले वृद्धि भएको भनेर कहिले भनेका छैनौँ । यसको लागि कृषकहरूलाई नै धन्यवाद दिने हो र दिएका छौँ ।’

अनुदान लिएर कृषि कर्म नगरेकाहरूलाई कारबाही गर्नको लागि मन्त्रालयमा छलफल गरेर एउटा टिम बनाएको पनि उनको भनाई छ ।

उनले भने, ‘अनुदान कस्ता कस्ताले पाएका, कसले ठूलो रकम पाएका र अनुदान लिएर पनि कृषि कर्म नगरेको हुन सक्छ त्यसका लागि मन्त्रालयमा छलफल गरेर कारबाही गर्नको लागि एउटा टिम बनाएका छौँ ।’