संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भएको सहभागिताले नेपाललाई सशक्त रूपमा प्रस्तुत गर्न योगदान पुगेको छ : परराष्ट्रमन्त्री

1.13K
shares

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र संयुक्त राष्ट्रसंघको भ्रमणबारे जानकारी गराएकी छन् ।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको बैठकमा उनले प्रधानमन्त्रीबाट संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भएको सहभागिताले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन र विश्व मञ्चमा नेपाललाई सशक्त रूपमा प्रस्तुत गर्न योगदान पुगेको र चीन भ्रमणमा पनि नेपाल र चीनबीचको सम्बन्ध र सहयोग सम्बन्धी महत्त्वपूर्ण छलफल भएको बताइन् ।

उनले भनिन्, ‘प्रधानमन्त्रीबाट संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भएको सहभागिताले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन र विश्व मञ्चमा नेपाललाई सशक्त रूपमा प्रस्तुत गर्न योगदान पुगेको छ । चीन भ्रमणको क्रममा चीनसँग व्यापार लगानी, अन्तरदेशिय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशा तर्फ दुई पक्षीय सम्बन्ध राम्रो हुनु पर्ने कुरा भएको र नेपाल र चीनको सम्बन्ध थप उचाइमा लैजानको लागि भावी कार्य दिशा समावेश गरिएको छ ।’

यसको साथै, उनले प्यालेस्टाइनको पक्षमा भएको एउटा स्पेसल बैठकमा भाग लिँदै विपिन जोशीको रिहाइको लागि पहल गरेको पनि बताइन् ।

उनले भनिन्, ‘प्यालेस्टाइनको पक्षमा त्यहाँ भएको युद्ध सम्बन्धी एउटा स्पेसल बैठक भएको थियो । त्यसमा पनि मैले भाग लिएको थिए, त्यो बेला मैले विपिन जोशीको रिहाइको लागि पहल गरेको थिए ।’