विपद्मा भएको क्षतिको परिपूरण जस्ताको त्यस्तै कुनै पनि देशले गर्न सक्दैन: सहसचिव डा. भुसाल

2.17K
shares

काठमाडौं । नेपाल सरकारका सहसचिव डा. भीष्म कुमार भूसालले भूकम्पले क्षति पुर्‍याएका संरचनाहरू सरकारले बनाउन करिब ३ देखी ५ लाख रुपैयाँ उपलब्ध गराउन सक्ने बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पत्रकार सम्मेलनमा बोल्दै उनले डोटीमा गएको भूकम्पले क्षति पुर्‍याएका घरहरू पुनर्संरचना गर्नका लागि सरकारले ४ लाख रुपैयाँ उपलब्ध गराउने बताएका हुन् ।

उनले भने, ‘भूकम्पले क्षति पुर्‍याएका घरहरू निर्माण गर्न सरकारले ३ देखी ५ लाखसम्मको रकम छुट्याएको छ । हिमाली क्षेत्रमा ५ लाख, पहाडी क्षेत्रमा ४ लाख र तराइ क्षेत्रका लागि ३ लाख छुट्याएको छ । अब यसमा घर बन्ने हो की होइन भन्ने पेचिलो प्रश्न उठ्नु स्वाभाविक नै हो । हामीले भूकम्पले क्षति पुर्‍याएका डोटीका घरहरू पनि हेरे तर ती घरहरू २० देखी २५ हजारमा बनेका पनि छन् । अहिले चाहिँ सरकारले ४ लाखसम्म उपलब्ध गराउने भनेको छ ।’

यसैगरी उनले सरकारले आफ्नो क्षमता अनुसार कति सहयोग गर्छ त्यो सरकारको ढुकुटीमा निर्भर रहने बताए । उनले कुनै पनि विपद्मा भएको क्षतिको परिपूरण जस्ताको त्यस्तै संसारमा कुनै देशले पनि गर्न नसक्ने बताए ।

उनले भने, ‘सरकारको आफ्नो क्षमता अनुसार कति सहयोग गर्छ त्यो सरकारको ढुकुटीमा निर्भर पर्छ । बाँकी कुनै पनि विपद्मा भएको क्षतिको परिपूरण जस्ताको त्यस्तै संसारमा अमेरिकाले पनि गर्न सक्दैन । पुरै क्षतिको परिपूरण कुनै देशले गर्न सक्दैन । त्यसैले नेपालले पनि न्यूनतम आवासको चाहिँ हक सुनिश्चित गर्नको लागि सरकारले सपोर्ट गर्नुपर्ने विषय चाहिँ हो ।’