धनुषा प्रहरीविरुद्ध युवाहरूले गरे टायर बालेर प्रदर्शन

1.16K
shares

जनकपुर । जनकपुरधाममा युवाहरूले टायर बालेर धनुषा प्रहरीविरुद्ध नाराबाजी एवं प्रदर्शन गरेका छन् ।

सोमबार नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका युवाहरूले जनक चोकमा टायर बालेर प्रदर्शन गर्नुका साथै धनुषा प्रहरीविरुद्ध नाराबाजी गरेका छन् ।

घर भाडाको विषयमा छलफल गर्न जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका युवाहरू र अर्को पक्षबीच कुरा नमिल्दा होहल्लाको स्थिति सृजना हुँदा राष्ट्रिय युवा संघका प्रदर्शस अध्यक्ष लभ अधिकारीमाथि एक जना हवलदारले कलर समातेर हातपात गरेको भन्दै आफूहरूले विरोध गरेको अनेरास्ववियु धनुषा जिल्ला अध्यक्ष पुरुषोत्तम चौधरीले जानकारी दिए ।

हवलदारले गरेको अभद्र व्यवहारको जानकारी इन्स्पेक्टर एस के यादवसमक्ष गर्न जाँदा उल्टै उनले आफूहरूमाथि झन् बढी दुर्व्यवहार गरेको अध्यक्ष चौधरीले सुनाए ।

मुख्य चोकमै टायर बालेर प्रदर्शन गर्ने क्रममा प्रहरीले आगो निभाएका छन् । आक्रोशित युवाहरू सडकको बीचमै बसेर बाटो अवरुद्ध बनाएका छन् । अहिले जनक चोकमा प्रहरी र सुरक्षा बलको बाक्लो उपस्थिति रहेको छ ।

यता इन्स्पेक्टर एक के यादवसंग फोन सम्पर्क गर्दा उनले छलफलको क्रममा विवाद हुँदा आफूहरूले सम्झाउन मात्र खोजेको र युवाहरूले लगाएको आरोपमा कुनै सत्यता नरहेको प्रतिक्रिया दिएका छन् ।