माघे सङ्क्रान्ति पर्वमा दुई दिन सार्वजनिक बिदा
वि.सं.२०८१ पुस २९ सोमवार २०:०७
shares

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले माघे सङ्क्रान्ति पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ ।
चन्द्रपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा नगर उप– प्रमुख जयमाला चौधरीको तर्फबाट दुई दिन सार्वजनिक बिदा दिएको हो । नेपालीहरूको पर्व माघे सङ्क्रान्ति (माघी पर्व) को अवसरमा माघ १ र २ गते सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख गरिएको छ ।
नगर उप–प्रमुख चौधरीद्वारा हस्ताक्षरित सूचनामा २०८१ माघ १ र २ गते सार्वजनिक बिदा दिएकाले सो दिन चन्द्रपुर नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू तथा मातहतका सम्पूर्ण कार्यालयहरूमा बिदा रहने ब्यहोरा उल्लेख गरिएको छ ।
चन्द्रपुर नगरपालिकाको जुडिवेला, सन्तपुर, मोथियाही, वसन्तपुर, राजपेडा लगायतमा थारुको बाहुल्यता रहेको छ ।
थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने माघे सङ्क्रान्तिका दिन ठुलो परिवारका थारु समुदायका परिवार एक ठाउँ सगोलमा बस्ने वा छुट्टिएर बस्ने भन्ने निर्णय गर्ने गर्दछन् ।












