जलवायु परिवर्तनका कारण भूमिगत पानीको अवस्था जीर्ण बन्यो : यादव

1.13K
shares

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारणले भूमिगत पानीको अवस्था एकदमै जीर्ण रहेको बताएका छन् ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले २०७२ सालको भूकम्पपछि खानेपानीको संरचनामा जलवायु परिवर्तनका कारणले भूमिगत पानीको अवस्था एकदमै जीर्ण रहेको बताएका हुन् ।

उनले भने, ‘२०७२ सालको भूकम्पपछि खानेपानीको संरचनामा खास गरेर मुहानहरूमा जलवायु परिवर्तनका कारणले भूमिगत पानीको अवस्था एकदमै जीर्ण अवस्थामा पुगेको छ । तराई मधेशको कुरा गरौँ,जहाँ मेरो घर हो । त्यहाँ डेढ फिटमा पानी आउँथ्यो । तर अब हाम्रा मुहानहरू सुक्दै गएका छन् । तर ती मुहानलाई पनि फेरि सञ्चालनमा ल्याउन सकिने विज्ञहरूको सुझाव छ ।’

मन्त्री यादवले भूकम्पीय जोखिम न्यूनीकरणको लागि व्यवस्थित बस्ती र सहरीकरणको अवधारणालाई लागू गर्नुपर्ने आवश्यक रहेको बताए ।

उनले भने, ‘भूकम्पीय जोखिम न्यूनीकरणको लागि व्यवस्थित बस्ती र सहरीकरणको अवधारणालाई लागू गर्न आवश्यक छ । अनैतिक सहरीकरणले भूकम्प जस्ता प्राकृतिक प्रकोपको प्रभाव बढाउँछ र आपतकालिन समयमा गम्भीर समस्या निम्ताउँछ । प्राकृतिक नियम र इन्जिनियरको सिद्धान्त विपरीत हचुवाको भरमा गरिने भौतिक संरचनाको विकासमा पूर्णरुपमा रोक लगाउनुपर्छ र प्राविधिक परीक्षण अनिवार्य रूपमा गरिनुपर्छ ।’