कोपमा भएको कमजोरी मन्त्रीले स्वीकारे
वि.सं.२०८१ माघ ३ बिहीवार १५:३६
shares

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन (कोप २९) मा भएका कमजोरीलाई सुधार गर्ने र राम्रा पक्षहरूलाई अझै राम्रो बनाउने कोसिसमा रहेको बताएका छन् ।
बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको ‘विश्व जलवायु सम्मेलन (कोप २९) को समीक्षा र नेपालको आगामी कार्यदिशा’ बारेमा छलफलमा उनले कोपको तयारीको लागि छोटो समय प्राप्त भएको भन्दै कमी कमजोरी भएको कुरा स्वीकार गरेको बताए ।
उनले भने, ‘कोपको बारेमा धेरै चर्चा भएको छ । यसलाई सहजताका साथ स्वीकार पनि गरेका छौ । कमी कमजोरीलाई आगामी दिनमा सुधार गर्ने हाम्रो प्रतिबद्धता छ । र राम्रा पक्षहरूलाई अझै राम्रो बनाउने कोसिस पनि छ । कोपको तयारीको लागि छोटो समय भएको मेरो आफ्नो बुझाई छ । र छोटो तयारीमा कमी कमजोरी भएको कुरा स्वीकार गर्न चाहन्छु । म कुनै गल्ती नै भएको छैन भन्ने पक्षमा छैन ।’
यसको साथै, उनले नेपाल सरकारले कोपमा जानको लागि कुनै बजेटको व्यवस्था नगर्ने हुँदा पनि समस्याहरू आएको बताए ।
‘नेपाल सरकारले कोपमा जानको लागि कुनै बजेटको व्यवस्था गरेको हुँदैन रहेछ । राष्ट्रिय टोलीको लागि मात्र एउटा निश्चित बजेटको व्यवस्था हुने रहेछ । त्योभन्दा बाहेकका लागि विभिन्न विकास साझेदारहरूको माध्यमबाट जानुपर्ने परिस्थिति रहेछ । त्यो पनि सीमित मात्रामा बजेट हुने हुँदा सबैलाई सहभागी गर्न सकिएन,’ उनले भने ।
अबको कोप ब्राजिलमा हुने भनेर निर्णय भएको र त्यसका लागि एउटा संयन्त्र बनाएर जाने कुरा पनि प्रधानमन्त्री समक्ष राखेको उनको भनाई छ ।













