त्रिपाठीमाथिको आक्रमण राजनीतिक अनुशासन विपरीत

1.18K
shares

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कार्यकर्ताबाट भएको आक्रमण राजनीतिक अनुशासन विपरीत भएको सरोकारवालाहरूले बताएका छन् ।

वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले रास्वपाका समर्थकबाट भएको काम निन्दनीय र गर्न नहुने भएको बताए । शुक्रवार नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले अराजक शैली भएको बताए ।

उनले जनताहरू माथि यातना दिने काम गर्ने सरकारको विरुद्धमा लडिरहने कानून व्यवसायीहरूमाथि यस्ता आक्रमण हुनु निन्दनीय भएको बताए । उनले राष्ट्रिय परिचयपत्र ठेक्का अनुमोदन गर्ने प्रसङ्ग पनि उठाए ।

‘अराजकशैलीले जनताहरूमाथि यातना दिने काम गर्ने सरकारका विरुद्धमा लडिरहने कानून व्यवसायीहरूलाई आक्रमण कस्तो तत्त्वले गर्छ भन्ने स्पष्ट छ । यदि जानेर नजानेर रास्वपाका समर्थकले यस्तो काम गर्नुभएको हो भने निन्दनीय छ,’ उनले भने ।

यस्तै, उनले रास्वपा राजनीतिक अनुशासनमा छैन भनिरहँदा गठबन्धन दलका समर्थकहरूबाट जुन गाली गर्ने काम भयो त्यो अमान्य भएको बताए ।

बुधवार रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणका सम्बन्धमा थुनछेक बहस गरेर निस्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा रास्वपाका कार्यकर्ताहरूले आक्रमण गरेका थिए ।

बार एसोसिएसनले उक्त हमलाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाप्रति घोर भर्त्सना गरेका छन् ।