नारायणी अस्पतालको भवन अभाव, कर्मचारीहरू आन्दोलित

1.12K
shares

रौतहट । नारायणी अस्पताल वीरगन्जको भवन अभावले उपचारमा समस्या भएको भन्दै सम्पूर्ण कर्मचारीहरू आन्दोलित भएका छन् । अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुले सडकमा उत्रिएर शुक्रवार बिहान केही बेर त्रिभुवन राजपथ नै अवरुद्ध पारेका हुन् ।

नारायणी अस्पतालको भवन अविलम्ब बनाउनु पार्ने माग सहित आन्दोलित भएको अस्पतालकी प्रसूति अधिकृत श्रृती साहले बताएकी छिन । बिरामीको चाप बढी भएकाले सेवा दिन असजिलो भएको उनले बताइन् ।

सरकारले पाँच वर्षअघि मन्त्रीपरिषदकै बैठकबाट नारायणी अस्पताललाई केन्द्रीय अस्पताल घोषणा गर्दै ३ सय ५० शय्याको पाँच तल्ले भवन निर्माणका लागि बजेटसमेत निकासा गरेको थियो । तर उक्त भवन निर्माणको प्रक्रिया सुरु नहुदै शहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनी (ठेकेदार) बीचको विवाद सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका कारण पाँच वर्षदेखि अलपत्र अवस्थामा छ ।

अदालतले उक्त मुद्दाको छिनोफानो नलगाएका कारण बाध्य भएर आन्दोलित भएको अस्पतालका चिकित्सकहरूको भनाइ छ । सर्वोच्च अदालतमा यो मुद्दाको पेशी यही माघ २८ गते भएको र त्यस दिन पनि मुद्दाको छिनोफानो नभए थप आन्दोलनका कार्यक्रम तय गर्ने नारायणी अस्पताल विकास समितिले जनाएको छ ।