अवैध रूपमा सञ्चालनमा रहेको औषधी पसलमा तालाबन्दी
वि.सं.२०८१ फागुन १६ शुक्रवार १५:५९
shares

रौतहट । रौतहटको चन्द्रपुरमा रहेको केही औषधी पसल अवैध रूपमा सञ्चालनमा रहेको पाइएको छ । औषधी व्यवस्था विभागको शाखा कार्यालय वीरगन्जबाट आएको अनुगमन टोलीले अनुगमनका क्रममा फेला परेको हो ।
अनुगमन टोलीले चपुर सिटी अस्पतालको औषधी पसल, डल्फीन फार्मेसी, आयु मेडिकल हल अवैध रूपमा सञ्चालनमा रहेको पाइएपछि तालाबन्दी गरेको हो ।
यस्तै हाइवे ट्रमा सेन्टरमा रहेको औषधी पसलमा पनि ताला लगाएको छ । फार्मेसीको दर्ता नभएको र आवश्यक कागजपत्र देखाउन नसकेपछि ताला लगाएर अनुसन्धानको लागि सञ्चालक लाई विभागमा हाजिर हुन भनिएको शाखा कार्यालय वीरगन्जका प्रमुख अरविन्द बानियाले जानकारी दिए । उनीहरूलाई औषधी ऐन २०३५ अनुसार कारबाही हुने उनको भनाइ छ ।
केही औषधी पसलहरूलाई कागजपत्र नवीकरण गर्नेको लागि सात दिनको समय दिएको र औषधी व्यवस्था विभाग वीरगन्ज शाखाका सम्पर्क राख्न समेत जानकारी गराइएको बानियाले बताए ।
रौतहटका करिब दुई दर्जन भन्दा बढी औषधी पसलको अनुगमन गरेको र दोषीलाई कडा भन्दा कडा कारबाही गरेर छाडने औषधी व्यवस्था विभागको शाखा कार्यालय वीरगन्जले जनाएको छ ।













