सतलोक आश्रममा ९ नव जोडीको दाइजोमुक्त विवाह सम्पन्न

1.01K
shares

जनकपुर । धनुषाको मिथिला नगरपालिका– २, बेलाचापीस्थित सतलोक आश्रममा ९ नव जोडीको दाइजोमुक्त विवाह सम्पन्न भएको छ ।

सन्त रामपालजी महाराजको सान्निध्यमा सन्त गरिबदासजी महाराजको २९९ औँ बोध दिवसको अवसरमा उनीहरूको दाइजोमुक्त विवाह सम्पन्न भएको हो ।

सन्त रामपालजी महाराजको सान्निध्यमा गरिने नव जोडीहरूको दाइजो तथा आडम्बरमुक्त विवाह (रमैणी) मा कुनै सरसामान तथा नगद लेनदेन नहुने तथा बेहुला वा बेहुली दुवै पक्षको कुनै पनि खर्च नहुने आश्रमले जनाएको छ ।

समाजबाट दाइजो रूपी कुप्रथालाई समाप्त पार्न सन्त रामपालजी महाराजको दाइजोमुक्त समाज अभियान अन्तर्गत यस्ता विवाह हुने निरन्तर हुने गरेको छ । यस्ता विवाहले समाजमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको र समाज परिवर्तित भइरहेको आश्रमले जनाएको छ ।

साथै आश्रममा उपस्थित अनुयायीहरूले नेपाल रेडक्रस सोसाइटीकालागि ६६ यूनिट रक्तदान पनि गरेका छन् । सन्त गरिबदासजी महाराजको बोध दिवसका अवसरमा सतलोक आश्रम धनुषा लगायत भारतका सम्पूर्ण ११ सतलोक आश्रमहरूमा तीन दिवसीय विशाल महाभन्डाराका साथै विभिन्न सामाजिक कार्यहरू भएको हो ।

मङ्गलवार (आज) आयोजित विशाल धार्मिक भण्डारा कार्यक्रममा विशिष्ट व्यक्तित्व, राजनीतिज्ञ, समाजसेवी, कर्मचारी लगायत करिब ५ लाख जति श्रद्धालुहरूको उपस्थिति रहेको आश्रमले जानकारी दिएको छ ।