निराशाजन्य अवस्थामा सम्मेलन आशाको दियो बन्नेछ : मन्त्री भण्डारी

1.17K
shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले मुलुकमा एकथरीको निराशाजन्य वातावरण छाएको बताएका छन् । मंगलबार श्रम तथा रोजगार सम्मेलनको समापन समारोहमा उनले मुलुकमा एक थरीको निराशाजन्य वातावरण भइरहेको अवस्थामा आशाको दियो देखाउनु पर्ने भन्दै त्यसको लागि यो सम्मेलनले भूमिका खेल्ने बताए ।

उनले भने, ‘मुलुकमा एक थरीको निराशाजन्य वातावरण भइरहेको अवस्था छ, यो अवस्थामा हामीले आशाको दियो देखाउनु पर्ने आवश्यकता छ । विश्वासको ठूलो संकट छ, त्यसलाई चिर्दै हाम्रो लागि हामी नै सक्षम छौ, हामी गर्न सक्छौ भन्ने विश्वासको वातावरण सिर्जना गर्नुपर्छ । तर यो सजिलो छैन । नीति कानून सबै छ, यात्रा शुभारम्भ पनि भएको छ तर गन्तव्यमा किन पुगिरहेका छैनौ ? यो प्रश्न एकदमै गम्भीर छ र यसमा हामी गम्भीर पनि छौ ।’

यस्तै, उनले मन्त्रालय १६ औँ पञ्चवर्षीय योजना अगाडि बढाउने अवस्थामा रहेको भन्दै यसले लुकेका सम्भावनाहरू निकाल्ने बताए । उनले भने, ‘अहिले हामी १६ औँ पञ्चवर्षीय योजना अगाडि बढाउने अवस्थामा छौ । यसले अहिलेको श्रम र रोजगारका समस्याहरूलाई र आन्तरिक रोजगार प्रवर्द्धन गर्ने कुरालाई राष्ट्रिय रूपमा स्वीकार गरेको छ । यसमा कुन–कुन क्षेत्रमा रोजगारका सम्भावनाहरू देखिन्छन् । ती सम्भावनाहरू कता–कता लुकेका छन् र कसरी निकाल्ने भन्ने कुरा पनि आएको छ ।’

परम्परागत कुराले अहिलेको आधुनिक युगमा काम गर्न नसकिने भन्दै सबै नीति नियम र कानूनलाई समयसापेक्ष बनाएर लानुपर्ने पनि उनको भनाई छ ।