दैनिक जिवनमा मात्रै नभैइ मुलुकको आर्थिक समृद्धिमा समेत पानीको महत्व छ : मन्त्री खड्का

1.14K
shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलस्रोत भएको मुलुक मध्येको नेपाल पनि एक भएकाले पानीको संरक्षणमा लाग्नु आजको आवश्यकता रहेको बताएका छन् । शनिवार ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ मा बोल्दै मन्त्री खड्काले पानीको सही सदुपयोग र सही उपयोग गर्न सके दैनिक जीवनमा मात्रै नभै मुलुकको आर्थिक समृद्धिमा समेत टेवा पुर्‍याउने बताएका हुन् ।

उनले भने, ‘पानी बिना जीवन एक छिन कल्पना गर्न पनि हामीलाई गाहे छ । सबैभन्दा बढी पानी अर्थात् जलस्रोत भएको मुलुक मध्येको एक नेपाल पनि हो भनेर यसको उपयोग गर्दै गर्दा हामी महसुस गर्न सक्छौँ । यसरी तुलनात्मक ढंगले यसलाई हेरेर यसको संरक्षणमा लाग्नु आजको आवश्यकता हो । यसलाई सही सदुपयोग र उपयोग गर्नु आजको आवश्यकता हो । दैनिक जीवनमा मात्रै होइन मुलुकको आर्थिक समृद्धिका लागि पनि यो पानी अर्थात् जलस्रोत अत्यन्तै उपयोगी छ । खास गरी नेपालका लागि क्रान्तिकारी आर्थिक समृद्धिको लागि पानीको उपयोग गरेर समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने, मुलुकले लक्ष्य लिएर अगाडि बढिरहेको छ । ’

साथै उनले पानीको संरक्षण सँगसँगै पानीबाट सृजित चुनौतीहरूको व्यवस्थापन गर्नुपर्ने बताए । उनले हिमालहरूको अवस्था, हिमनदीहरूको अवस्था र त्यसबाट सृजित समस्याहरूको समाधानका लागि नेपाल सरकार गम्भीर रूपले लागिरहेको समेत बताए ।

उनले भने, ‘हामीले स्वच्छ पानीका कुरा गरिराखेका छौँ । र पानीको संरक्षण सँगसँगै पानीबाट सृजित चुनौतीहरूको व्यवस्थापन आवश्यक छ । वातावरण प्रभावका कुरा गरिराखेको छौँ । वातावरणका असरका कारण, हिमालहरूको अवस्था, हिमनदीहरूको अवस्था र त्यसबाट सृजित समस्याहरूको समाधानका लागि नेपाल सरकार गम्भीर छ । विभिन्न दातृ राष्ट्रहरूसँग, विकास साझेदारी राष्ट्रहरूसँग छलफल र अनुरोध गरिराखेको छ । हामीले हाम्रो तहबाट संरक्षण गर्ने कुरा र उपयोग गर्ने कुरामा पनि हामी सबै नेपालीहरू आफ्नो ठाउँबाट लाग्नुपर्छ भन्ने म विश्वास राख्न चाहन्छु ।’