असिना पानीले कृषिवालीमा क्षति, घोगा लागेको मकै सखाप

1.66K
shares

रौतहट । रौतहटमा बेमौसमी वर्षा र असिनाका कारण अन्न, तरकारी तथा फलफूल बालीमा क्षति पुगेको छ । चन्द्रपुरसहित उत्तरी भेगमा शनिवार बिहान करिब २ बजेतिर आएको असिना पानीले मकै बालीमा बढी क्षति पुगेको हो ।

चन्द्रपुर नगरपालिका वाड नं ८ का कृषक शिव तिमल्सिनाका अनुसार घोगा लागेको हरियो अवस्थाको मकै खेती असिनाले सखाप पारेको हो ।

अबको एक/दुई महिना पछि घरमा भित्र्याउने बेला हुने विकासे मकै असिना पानीले नष्ट पारेको उनको गुनासो छ । मकै खेती गर्दा बिरुवा छँदा गोवारो रोगले दुःख दिने गरेको गुनासो गर्दै उनले बल्ल–बल्ल हुर्काए पनि सुगा र असिना पानीबाट जोगाउन नसकिएको बताए ।

सुगाबाट बचाउन सकिए पनि प्रकृतिवाट बचाउन नसकिने उनले बताए । तिमल्सिनाको जस्तै रौतहटका विभिन्न स्थानमा असिनापानीले मकै बाली नष्ट गरेको छ । वृन्दावन नगरपालिकाको विभिन्न गाउँमा गरिएको हिउँदे बालीमा असिना पानीले क्षति गरेको स्थानीय कृषकहरूले बताएका छन् ।

असिनाले गहुँ, मुसुरो, तेलहन, दलहन, आँप, लिची, कटहर जस्ता बालीमा बढी क्षति गरेको कृषकहरूको भनाइ छ । आँप र लिचीको मजुर फुल अर्थात् बतिला (स–साना अवस्था) असिना पानीका कारण झरेर क्षति पुगेको उनीहरू बताउँछन् ।

कृषि ज्ञान केन्द्र गौरले मकैसहित अन्य बालीमा रोग, किरा तथा प्राकृतिक विपत्तिबाट हुँदै आएको क्षतिलाई नियन्त्रण गर्न बिमा गर्नु पर्ने सुझाव दिएको छ ।

असिना पानीले खपडा, फुस, टाली घर पनि क्षति पुगेको स्थानीयले बताएका छन् । हिउँदे वर्षा र असिनाका कारण इट्टामा पनि क्षति पुगेको व्यवसायीहरू बताउँछन् । असिना पानीले गरेको क्षतिका बारेमा तिनै तहको सरकारले ध्यान दिनुपर्ने कृषकहरूको माग छ ।