महिला सशक्तीकरणबिना खानेपानी र सरसफाइको क्षेत्रको विकास असम्भव

1.57K
shares

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले महिला सशक्तीकरणबिना खानेपानी र सरसफाइको क्षेत्रमा दिगो विकास सम्भव नभएको बताएका छन् ।

सोमबार ‘खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा महिला नेतृत्व: चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठी कार्यक्रममा उनले महिलाहरू कसरी अघि बढ्न सक्छ भन्ने विषयमा गहिरो विचार गर्न जरुरी रहेको भन्दै महिला सशक्तीकरणबिना खानेपानी र सरसफाइको क्षेत्रमा दिगो विकासको लक्ष्य प्राप्त गर्न सम्भव नभएको बताए ।

उनले भने, ‘नीति निर्माणदेखि कार्यान्वयन तहसम्म महिलाको प्रभावकारी सहभागिता अझै पनि महत्त्वपूर्ण छ र चुनौतीपूर्ण पनि छ । वर्तमान समयमा महिलाको नेतृत्व तहलाई प्रवर्द्धन गर्न सरकार र समुदायले अनेक प्रयासहरू गरिरहेको छ । आजको गोष्ठीको उद्देश्य पनि त्यही नै हो र महिलाहरू कसरी अघि बढ्न सक्छ भन्ने विषयमा गहिरो विचार गर्न जरुरी छ । महिला सशक्तीकरणबिना खानेपानी र सरसफाइको क्षेत्रमा दिगो विकासको लक्ष्य प्राप्त गर्न सक्दैनौ र सम्भव पनि छैन ।’

यसको साथै, उनले आजको गोष्ठीले गरेको निर्णय कार्यान्वयन गर्न मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

उनले भने, ‘आजको गोष्ठीको केही न केही परिणाम आउनु पर्छ । गोष्ठी धेरै हुन्छ, कार्यान्वयन कम हुन्छ । भाषण गरियो, बलियो, सुनियो सक्यो । वास्तवमा कुनै पनि गोष्ठीको दीर्घकालीन योजना हुनुपर्छ । त्यो योजना अनुसार आजको गोष्ठीले जुन निर्णय गर्छ, त्यो निर्णय कार्यान्वयन पनि हुन्छ भन्ने मैले विश्वास लिएको छु र त्यो निर्णय कार्यान्वयन गर्न मन्त्रालयको तर्फबाट जे सहयोग गर्न सकिन्छ त्यो गर्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु ।’

उनले देशको आधा हिस्सा ओगटेको महिलाहरूको भूमिका घर व्यवस्थापनदेखि समाज रूपान्तरणसम्म एकदमै महत्त्वपूर्ण रहेको भए पनि महिलाहरू उपभोक्ता संस्थाहरूमा नेतृत्वदायी भूमिकामा कम देखिनु दुखद कुरा रहेको पनि उल्लेख गरेका छन् ।

उनले भने, ‘खानेपानी र सरसफाइको क्षेत्रमा महिलाको भूमिका धेरै महत्त्वपूर्ण हुन्छ किनभने घरपरिवारमा पानीको व्यवस्थापन, सरसफाइको अभ्यास गर्ने प्रमुख जिम्मेवारी प्राय महिलाहरूको नै काँधमा नै हुने गर्दछ । देशको आधा हिस्सा ओगटेको महिलाहरूको भूमिका खानेपानी र सरसफाइ प्रणालीको प्रत्यक्ष उपभोक्ता मात्र होइन घर व्यवस्थापनदेखि समाज रूपान्तरणसम्म एकदमै महत्त्वपूर्ण छ । तर महिलाहरू उपभोक्ता संस्थाहरूमा नेतृत्वदायी भूमिकामा कम देखिन्छन् ।’