नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियानमा सबैजना जुट्न आब्हान
वि.सं.२०८१ चैत २४ आइतवार १४:४६
shares

काठमाडौं । विश्व हिन्दू महासंघका सदस्य एवं कलाकार मदनदास श्रेष्ठले नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियानमा सबै जना जुट्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा राम नवमी पर्व र हिन्दु महासंघको ४५औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहमा उनले विश्वभरका छरिएर बसेका सनातन हिन्दू समाजलाई एकताबद्ध गर्ने अभियानमा महासंघ जुटेको भन्दै सबैलाई यसमा जोडिन आग्रह गरेका हुन् ।
उनले भने, ‘विश्व हिन्दू महासंघ नेपाल अधिराज्यभर र विश्वभरका छरिएर बसेका ओमकार परिवार र सनातन हिन्दू समाजलाई एकताबद्ध गर्न, हिन्दू धर्मको संरक्षण, संवर्द्धन गर्न साथै विकासका लागि महासंघले काम गरिरहेको छ । सबै जना एक साथ एक मन-तन भएर पुनः नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियानमा जुट्नुपर्छ ।’
यसको साथै, उनले आदर्श पुरुष राम पृथ्वीमा आएपछि र असत्यमाथि सत्यको जित भएको आजको दिनमा विश्व हिन्दू महासंघको स्थापना भएकाले कार्यक्रम गरिएको बताए ।
सोही क्रममा राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्र स्थापना अभियानमा सक्रिय रमा सिंहले नेपालमा हाल राजनीतिक व्यवस्था एवं सामाजिक व्यवस्था बिग्रिँदै गएकाले त्यसलाई सुधार गर्न हिन्दू राज्य स्थापना हुनुपर्ने बताइन् ।
उनले भनिन्, ‘अहिले नेपालमा जुन राजनीतिक व्यवस्था छ, जुन प्रकारले सामाजिक व्यवस्था बिग्रिँदै गएको छ । यसलाई सुधार गर्नुपर्छ । सनातनी धर्मको मर्यादामा नेपाललाई स्थापित गर्नुपर्छ भन्ने अभियान चलाइएको छ । यस्तो अभियान नै हाम्रो रामराज्यको परिकल्पना हो ।’













