चैत १५ गतेको घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ, पार्टीलाई क्षतिपूर्ति चाहिन्छ: माधव नेपाल

1.04K
shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले चैत्र १५ गतेको घटनामा राज्यले आफ्नो पार्टी कार्यालयको उचित सुरक्षा गर्न नसकेको बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाल आदिवासी जनजाति महासंघ(समाजवादी)को बागमती प्रदेश भेला उद्घाटन गर्दै अध्यक्ष नेपालले कांग्रेस र एमालेको पार्टी कार्यालयमा पर्याप्त सुरक्षाकर्मी तैनाथ गरे पनि आफ्नो पार्टी कार्यालयलाई भने राज्यले सुरक्षा गर्न नसकेकाले चैत्र १५ गते आगजनी र तोडफोड भएको बताएका हुन् ।

आफ्नो कार्यालयमा तोडफोड गर्दै कम्प्युटर, मोबाइलका साथै फाइन समेत चोरी भएको उनले बताए ।

उनले चैत्र १५ गतेको घटनामा जोडिएका सबैले जिम्मेवारी लिनुपर्ने र दोषीलाई सरकारले कारबाही गर्नुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले आफ्नो पार्टीलाई उचित क्षतिपूर्ति दिन माग गरे ।

अराजक व्यक्ति बोकेर राजतन्त्रलाई पुनर्बहाली गर्ने उद्देश्य पुरा हुन नसक्ने उनले बताए ।