रौतहट आगलागी : दुई करोड मूल्य बराबरको क्षति

1.22K
shares

रौतहट । रौतहटको छुट्टाछुट्टै स्थानमा गए राती भएको आगलागीमा करिब दुई करोड मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । बैधिमाइ नगरपालिका ५ कोपुवामा भएको आगलागीमा एक करोड ७६ लाख बराबरको क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार स्थानीय धमेन्द्र जयसवालको तीन तल्लाको पक्की घरमा आगलागी भएको हो । घरको अन्डर ग्राउन्ड गोदाममा विधुतको तार सर्ट भई आगलागी भएको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए ।

उनका अनुसार अन्डर ग्राउन्ड गोदाममा रहेका कपडा र चप्पल लगायत गरी एक करोडको क्षति पुगेको छ । एक थान मोटरसाइकल र घरको अन्डर ग्राउन्ड गरी ७६ लाखको क्षति पुगेको उनले बताए । आगो सुरक्षाकर्मी, स्थानीयवासी र गौर तथा बैधिमाइ नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक उमाशंकर बताए ।

यसै गरी गौर नगरपालिका वाड न ४ कबिर चोकमा रहेको कृष्णनन्द पटेलको कच्ची घरमा आगलागी भएको प्रहरीले जनाएको छ । सोही घरमा रहेको मोटरसाइकल वर्कसपमा रहेको ५ थान मोटरसाइकल, वर्कसपमा रहेका टायर , मोबिल, हावाभर्ने टंकी लगायत गरी १४ लाख बराबरको क्षति पुगेको रौतहट प्रहरीले जानकारी दिएको छ । सो घरमा रहेको नस्ता पसलमा पनि आगलागीबाट क्षति पुगेको छ ।

घर, वर्कसप र नस्ता पसल गरी २१ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । दुवै आगलागीका घटनामा मानवीय र पशु चौपयमा क्षति नभएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भई रहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।