शुभकामना दिएको २४ घन्टामै पोप फ्रान्सिसको निधन

1.25K
shares

एजेन्सी । विश्वभरका क्याथोलिकहरुका आध्यात्मिक नेता पोप फ्रान्सिसको ८८ बर्षको उमेरमा निधन भएको छ ।

भ्याटिकनमा स्थानीय समयानुसार सोमवार बिहान ७ः३५ बजे ८८ वर्षीय फ्रान्सिसको निधन भएको बीबीसीले जनाएको छ ।

कार्डिनल केभिन फेरेललाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार उनी मिर्गौला र श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए । लामो समय अस्पतालमा भर्ना भएर हालै घर फर्किएका थिए ।

भ्याटिकनको सेन्ट पिटर्स स्क्वाएरमा ‘ईस्टर सन्डे’का निम्ति उपस्थित भएको २४ घण्टा नबित्दै पोपको निधन भएको छ ।

गत महिना पाँच सातासम्म अस्पतालमा भर्ना भएर फिर्ता भएका उनी आइतवार ह्वीलचेअरमा बसेर सेन्ट पिटर्स बसिलिकामा उपस्थित भीडलाई सम्बोधन गर्दै शुभकामना दिएका थिए ।

पोप फ्रान्सिस अर्जेन्टिनाका एक जेसुइट पादरी थिए, जो २०१३ मा रोमन क्याथोलिक चर्चका २६६ औं पोप बनेका थिए । उनी पोप बेनेडिक्ट सोह्रौंको उत्तराधिकारी निर्वाचित भएका थिए । (बीबीसी)