शिक्षकहरू चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन : ओली

1.91K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको समय हानिकारक र असामयिक प्रवृतिहरु प्रकट भइरहेको बताएका छन् ।

नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनमा बोल्दै उनले देशमा प्रतिगामी प्रवृत्ति, अति दक्षिणपन्थी र उग्र वामपन्थ प्रकट भइरहेको बताएका हुन् ।

उनले भने, ‘हामीले मिसन ८४ भनेका छौँ । मिसन त्यत्तिकै भनिएको होइन । देशका विभिन्न प्रकारका विकृति, विसङ्गतिहरू, हानिकारक र असामयिक प्रवृतिहरुको अन्त्यका लागि भनिएको हो ।’

साथै उनले सुन्दर समाज सिर्जना गर्न दक्ष जनशक्ति निर्माण गर्नुपर्ने बताए । उनले दक्ष जनशक्ति निर्माण गर्न लोकतन्त्र चाहिने बताए ।

ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर शिक्षकहरूलाई विद्यालयमा फर्कन आव्हान गरेका छन् ।

उनले सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताए ।

‘विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन छ । ऐन ल्याउनकै लागि भनेर यत्रा धेरै शिक्षकहरू सडकमा आउनु पर्दैन । भर्ना अभियान सुरु भइसकेकाले । कृपया विद्यालयमा गएर भर्ना सुरु गर्नुहोस् । एसइइको उत्तर पुस्तिका परीक्षण गर्नुस् । एसइइमा ५२ प्रतिशत विद्यार्थी फेल गराइएको भन्ने मेरो भनाइले चित्त नदुखाउनुस् । गुणस्तरीय शिक्षाका लागि लाग्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘शिक्षकहरुको आन्दोलनले विद्यार्थी र अभिभावकलाई घाटा छ । शिक्षकहरूलाई लाभ छैन । त्यस कारण अविलम्ब वार्तामा बसेर आन्दोलन अन्त्य गर्नुस् । प्रतिगामी तत्त्वहरू सल्बलाएका बेला आन्दोलन गर्ने उपयुक्त समय पनि होइन ।’