सामाजिक सञ्जालमा भाँडभैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन सुनिता डंगोल

2.04K
shares

 

११ वैशाख २०८२, काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो पार्टी नेकपा एमालेले सामाजिक सञ्जालमा भाँडभैलो गरेर उग्र बन्न नसिकाउने बताएकी  छिन्।

लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंको भृकुटिमण्डपमा आयोजित युथ सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

‘एमालेले कसैको घर जलाउन सिकाउँदैन् । कहिँ कतै लुटपाट गर्न युवा प्रयोग गर्दैन । एमालेले आफ्नो दश नंग्रा खियाएर राष्ट्रका लागि काम गर्न सधैं प्रेरित गरिरहन्छ,’ उपप्रमुख डंगोलले भनिन्, सोसल मिडियामा भाँडभैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन । एमालेले राम्रा कामका प्रचार प्रसार गर्न युवा शक्तिको सदुपयोग गर्छ ‘त्यसकारण मलाई एमाले मन पर्छ ।

उनले देश बनाउनका लागि स्टन्ट गर्न नहुने पनि बताइन् । ‘अहिले हामी देख्छौं, धेरै जना स्टन्ट गर्नुहुन्छ । बोल्नुहुन्छ, पपुलर बन्नुहुन्छ । अनि पपुलर बनेर मात्रै देश बन्छ जस्तो पनि गर्नुहुन्छ । तर, स्टन्ट गरेर देश बन्दैन,’ डंगोलले भनेकी छिन्, ‘स्टन्ट गरेर देश बन्दैन । स्टन्ट गरेर देश बन्छ देश बनाउने हो भने स्टन्ट गर्ने होइन, काम गर्ने युवा बनौं ।’

‘अहिले हामीलाई चारैतिरबाट आक्रमण भएको महसुस गर्न सक्छौं । जतिसुकै आक्रमण भए पनि हामी विचलित हुने छैनौं । राष्ट्र निर्माणमा एकजुट भएर लाग्नेछौं,’ डंगोलले भनिन् ।