बैंकक जानुअघि प्रचण्डलाई देउवाको फोन, गरे स्वास्थ्यलाभको कामना

1.12K
shares

११ वैशाख २०८२, काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैंकक जानुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद भएको बताएका छन् ।आज पार्टी संसदीय दलको बैठकमा प्रचण्डले यस्तो बताएका हुन् ।

‘देउवाजीले बैंकक जानुअघि फोन गर्नुभएको थियो, मैले स्वास्थ्य लाभको कामना गरेको छु,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक सांसदले भने । उनका अनुसार बैठकमा प्रचण्डले वर्तमान सरकारबाट समेत संघीय लोकतान्त्रिक गणतन्त्रत्माक शासन व्यवस्थामा खतरा रहेको ब्रिफिङ गरेका थिए । तथापि, आफूहरू तत्काल सरकारमा जानुपर्छ भन्ने पक्षमा नरहेको प्रचण्डको भनाइ थियो ।

तराई–मधेशकेन्द्रित जागरण अभियानको क्रममा जनताले आफूहरूलाई तत्काल सरकारमा नजान सचेत गराएको चर्चा गर्दै प्रचण्डले तत्काल सरकारमा जानुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका थिए ।

अभियानको क्रममा विभिन्न स्थानमा भएका जनसभामा प्रचण्डले वर्तमान सरकार आफैंभित्रको असन्तुष्टिका कारण चाँडै ढल्ने बताउँदै आएका छन् । तर, माओवादी केन्द्र तत्काल सरकारमा जाने पक्षमा नरहेको भनाइ पनि उनले व्यक्त गर्ने गरेका छन् ।

सरकार ढले माओवादीले बाहिरै बसेर कांग्रेस नेतृत्वलाई सघाउने प्रचण्डले बताउँदै आएका छन् । माओवादीका अन्य नेताहरू पनि अहिले सरकारमा जान नहुने धारणा राख्ने गर्छन् । तर, अर्को सरकारको विकल्प तयार नभइसकेकाले खुलेर टिप्पणी गर्न डराइरहेका छन् ।