पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन संसद्को लेखा समितिमा बुझाइँदै
वि.सं.२०८२ वैशाख १५ सोमवार १३:३३
shares

काठमाडौं । पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन संसद्को लेखा समितिमा बुझाइँदै छ । संसदीय उपसमितिले दिउँसो १ बजे मूल समितिलाई बुझाउन लागेको हो ।
गत असार १४ गते प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमन र छानबिन गरी रायसहितको प्रतिवेदन बुझाउन दुई छुट्टाछुट्टै उपसमितिहरू गठन गरेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमन प्रतिवेदन भने तयार भएर मूल समितिमा जान लागेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको छानबिन गर्न गठित उपसमितिको संयोजकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेन छन् ।
उनी नेतृत्वमा उपसमिति सांसदहरू दाहाल, अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि राना सदस्य छन् । भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमन उपसमिति एमाले सचिव एवं सांसद योगेश भट्टराईको नेतृत्वमा छ । यो उपसमितिमा सांसदहरू अमरेशकुमार सिंह, मनिष झा, अच्युतप्रसाद मैनाली, विक्रम पाण्डे, श्यामकुमार घिमिरे, मञ्जु खाँड र सराज अहमद फारुकी सदस्य छन् ।
सांसदहरूका अनुसार राज्यको अर्बौं रुपैयाँ लगानी भएको तर प्रतिफल दिन नसकेपछि अध्ययन गरिएको हो । दातृ निकायसँग ऋण लिएर राष्ट्रिय गौरवमा समावेश गरिएका यी आयोजनालाई सरकारले निकै महत्वका साथ निर्माण गरेको हो । २४ अर्ब लगानी भएको पोखरा विमानस्थल २०७९ पुसमा निर्माण सम्पन्न भएर उद्घाटन भएको थियो ।











