गगनविरूद्ध प्रधानमन्त्रीको अभिव्यक्ति र अवहेलना मुद्दा संयोग कि रणनीति ?
वि.सं.२०८२ वैशाख १५ सोमवार १८:४१
shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरूद्ध आइतबार दुई समाचार बाहिरिए । संवैधानिक निकायका ५२ जना पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दा सर्वोच्च अदालतले झुलाइरहेको भन्दै महामन्त्री थापाले दिएको अभिव्यक्तिविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको र अर्कोतिर थापालाई आफ्ना अभिव्यक्ति प्रमाणित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौती दिएका समाचार प्रकाशमा आए । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले गगन थापाको अभिव्यक्तिविरुद्ध दिएको मुद्दा दर्ता भएको जानकारी दिएका थिए ।
वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा काठमाडौँमा आयोजित ‘आजको लोकतन्त्र, अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा कांग्रेस महामन्त्री थापाले भनेका थिए, ‘अहिले सम्मानित सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयलाई अढाइ, तीन वर्षदेखि तलाई हान्दिउँ, हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भयाइनभ्याइ भन्छ । कहिले भोलि हेर्ने भन्छ, पर्सि हेर्ने भन्छ । त्यसले अदालतप्रतिको विश्वसनीयतामाथि प्रश्न गराउँछ ।’ एउटा संवैधानिक नियुक्ति भएको विषय, त्यो आयोगले गरेका काम, त्यसमा नियुक्ति भएका मानिसहरूको कार्यकाल सकिन लागिसक्दा पनि त्यो ठिक थियो कि बेठिक भनेर परीक्षण गर्ने कुरा नेपालको सम्मानित अदालतको लागि चार÷साढे चार वर्ष समय लाग्छ भन्दै उनले प्रश्न गरेका थिए । उनले प्रश्न गरे, ‘जसरी यो विषयलाई अदालतले डिल ग¥यो, त्यो अदालतप्रतिको विश्वसनीयता के रहन्छ ?’ झुठो आरोप लगाउनेहरूलाई प्रधानमन्त्रीको प्रश्न ः मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरूले प्रमाणित गर्न सक्छन् ?
संवैधानिक नियुक्तिको विषयमा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीसहितको पूर्ण इजलासमा सुनुवाइ भइरहेको छ । गत २०८१ माघ ३० गतेदेखि हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको मुद्दाको सुनुवाइ वैशाख २८ गते हुने गरी पेसी तोकिएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत संवैधानिक निकायमा ५२ जना नियुक्त गरेकोमा नियुक्ति बदरको माग गर्दै २०७७ मंसिर १ गते सर्वोच्चमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता ओमप्रकाश अर्याललगायतले रिट दर्ता गरेका थिए । अर्कोतर्फ प्रधानमन्त्री ओलीले वैशाख २ गते काठमाडौँमा आयोजित कार्यक्रममा महामन्त्री गगन थापाले व्यक्त गरेको ‘विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने गरेको’ अभिव्यक्तिको जवाफ आइतबार नै फर्काएका छन् । मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा ओलीले थापाको नाम नलिई राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाज शरम पचाएर यस्ता आरोप लगाउने गरेको बताए ।













