सहकारी ठगीमा सांसद माया राईविरुद्ध पूरक अभियोग, ३७ लाखभन्दा बढी बिगो माग

1.07K
shares

काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध पूरक अभियोजन दर्ता गरिएको छ।

यसपटक २० जना पीडितको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतमा पूरक मुद्दा दायर गरिएको हो, जसमा ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बराबरको बिगो माग गरिएको छ। सांसद राईको कार्यकालमा सहकारीको रकम दुरुपयोग भएको अनुसन्धानमा देखिएको छ।

यो पूरक मुद्दा भने अघिल्लो मुख्य मुद्दासँग जोडिएको छ, जुन गत पुस २१ मा दर्ता गरिएको थियो। त्यसबेलाको मुद्दामा ३९ जना प्रतिवादीमाथि ६९० जना बचतकर्ताको जम्मा १ अर्ब १९ करोड ३० लाखभन्दा बढी रकम हिनामिना गरेको आरोप थियो।

जिल्ला प्रहरी परिसर, काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय, बबरमहलले यो पूरक अभियोजन दर्ता गरेको हो। मंगलबार दर्ता गरिएको मुद्दामा सांसद राईसहित अन्य व्यक्तिहरूलाई सहकारी ठगीको अभियुक्त बनाइएको छ।

यसअघि सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसमेतमाथि मुद्दा चलाइएको थियो। उनी धरौटीमा रिहा भएका थिए।

सांसद राईमाथि पहिले पनि अनुसन्धान भएको थियो, तर उनलाई मुद्दाबाट उन्मुक्ति दिइएको थियो। सो निर्णयप्रति आलोचना भएपछि १३ वैशाखमा प्रहरीले कपनबाट राईलाई पक्राउ गरेको हो।