विदेश फर्केका युवालाई कृषिमा लगाउनुपर्छ : राष्ट्रपति पौडेल

2.41K
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्न आवश्यक रहेको बताएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा मंगलबार शितल निवासमा आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने युवा शक्तिलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्न कृषि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने समेत बताए ।

राष्ट्रपति पौडेलले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रमहरू सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहान गर्नुपर्ने उल्लेख गरे

उनले निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको धारणा पनि राखे । कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै औधोगिकिकरणको मार्ग प्रशस्त गरी आर्थिकरुपमा समृद्ध नेपालको निर्माण गरी संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट पूरा गर्न सकिने उहाले बताए ।

राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता आर्थिक समृद्धि, विकास र शान्ति भएको धारणा राखे ।

मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउन अति जरुरी रहेको उनको भनाइ छ ।

कार्यक्रममा देशभरका १४ जना कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको छ । सातै प्रदेशको प्रतिनिधित्व हुने गरि एक प्रदेशवाट दुई जनालाई पुरस्कार प्रदान गरिएको कृषि मन्त्रालयले जनाएको छ । पुरस्कारको राशी जनही दुई लाख रुपैया रहेको छ ।

कार्यक्रममा कृषिमन्त्री रामनाथ अधिकारीले प्रकृतिका चुनौतीहरूका वीच पनि कृषकहरुले कृषि क्षेत्रमा पु¥याउनुभएको योगदान अतुलनीय रहेको बताए ।