‘इरानले अमेरिकाको अनुहारमा थप्पड हानेको छ’ – खामेनी
वि.सं.२०८२ असार १२ बिहीवार १९:२२
shares

काठमाडौं । सर्वोच्च नेता खामेनीले भविष्यमा अमेरिकाले पुनस् इरानमाथि आक्रमण गरेमा त्यसको प्रतिवादमा मध्यपूर्वका अमेरिकी सैन्य अड्डालाई निसाना बनाउने चेतावनी दिएका छन् ।
८६ वर्षीय खामेनीले बिहिबार टेलिभिजनमार्फत् प्रसारित एक सम्बोधनमा यस्तो चेतावनी दिएका समाचार संस्था रोयटर्सले जनाएको छ ।
खामेनीले भने, ‘इरानमाथिको कुनै पनि हमला निकै महँगो पर्नेछ ।’ इजरायलसँग युद्धमा अमेरिका संलग्न भएपछि इरानले कतारस्थित अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको उनले स्मरण गराए ।
‘इस्लामिक गणराज्य इरानले अमेरिकाको अनुहारमा थप्पड हानेको छ, इरानले मध्यपूर्वकै एक प्रमुख अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको छ’, खामेनीले भनेका छन् ।
इरानको सरकारी टेलिभिजनमा प्रसारित रेकर्डेड वक्तव्य खामेनीले अज्ञातस्थलबाट दिएका हुन् । मध्यपूर्वमा रहेका सम्पूर्ण अमेरिकी सैन्य अड्डालाई निसाना बनाउन सक्ने भन्दै उनले आवश्यक परेमा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
कतारको एयर बेसमा गरिएको आक्रमणलाई अमेरिकी राष्ट्रपति ट्रम्पले कमजोर भनेकोप्रति लक्षित गर्दै सर्वोच्च नेता खामेनीले भनेका छन्, ‘यो सानो घटना होइन, ठूलो कुरा हो, यदि आक्रमण दोहोरियो भने यस्ता प्रत्याक्रमण भविष्यमा पुनस् दाहोरिन सक्छ ।’
विश्लेषकहरुका अनुसार खामेनीको पछिल्लो अभिव्यक्तिले मध्यपूर्वमा सुरक्षा चिन्ता बढाउने देखिएको रोयटर्सले उल्लेख गरेको छ ।













