मनसुनजन्य विपत्तिमा सरकारको तयारीः फोनमा घन्टी, चोभारको गल्छी काट्ने
वि.सं.२०८२ असार १२ बिहीवार १९:३०
shares

काठमाडौँ । यो वर्षको मनसुनमा झण्डै २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ। सरकारले डुबान, बाढी र पहिरो जस्ता मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी तीव्र बनाएको छ।
राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणका अनुसार ४ लाख ४७ हजार घरधुरी जोखिममा छन्। त्यसअनुसार कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका लागि हेलिकप्टर तयारी अवस्थामा छन् भने पूर्वसूचना प्रणालीमा फोन घन्टीमार्फत सूचना दिने व्यवस्था मिलाइँदैछ।
काठमाडौं उपत्यकाको डुबान नियन्त्रणका लागि चोभारको गल्छी विस्तार गर्ने निर्णय गरिएको छ। गत वर्ष बल्खु आसपासको डुबान समस्याको मूल कारण यही गल्छी रहेको निष्कर्षपछि यो कदम चालिएको हो।
सरकारले विपद् प्रतिकार्यमा स्थानीय तहलाई मुख्य भूमिका दिने नीति लिएको छ। प्रत्येक पालिकामा आपतकालीन सामग्रीको गोदाम बनाइनेछ। साथै, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीलाई अग्रपंक्तिमा राख्दै उद्धार र राहतको तयारी गरिएको छ।
विपद् व्यवस्थापनका लागि अहिले ४ अर्ब ६५ करोड रुपैयाँ कोषमा उपलब्ध रहेको छ। तर, राहत वितरण प्रणाली र समन्वयमा सुधार आवश्यक रहेको सांसदहरूको सुझाव छ।











