मन्त्री हेरफेरको गृहकार्यमा ओली, कांग्रेसको निर्णय पर्खँदै

2.02K
shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनर्गठनको चरणमा पुगेका छन् । एमाले अध्यक्षसमेत रहेका ओली पार्टीको बैठक सकेलगत्तै मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यमा लागेका हुन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली बिहीबार दिनभर सार्वजनिक कार्यक्रममा समेत सहभागी भएनन् । उनी लगातारको एमाले केन्द्रीय कमिटी बैठक र त्यसअघि विभिन्न कार्यक्रममा व्यस्त रहेका थिए । बिहीबार सार्वजनिक कार्यक्रममा सहभागी नभएर बालुवाटारमै आन्तरिक अध्ययनमा ओली जुटेका हुन् ।

‘पार्टी बैठक पनि सकियो, समयको चाप खासै छैन’, बालुवाटार स्रोतले भन्यो, ‘मन्त्री नियुक्त गर्दा एक वर्षका लागि भनिएकाले त्यो समय पनि पूरा भयो, अब हेरफेर गर्ने गरी आन्तरिक अध्ययन गरिरहनुभएको छ ।’ तर प्रधानमन्त्री ओलीले मन्त्रीहरूको हेरफेरबारे सत्ता साझेदार दल नेपाली कांग्रेससँग औपचारिक छलफल भने गरिसकेका छैनन् । ‘अनौपचारिक कुराकानी त भएको हुनुपर्छ तर औपचारिक रूपमा कांग्रेससँग पनि छलफल भइसकेको जस्तो लाग्दैन,’ बालुवाटार स्रोत भन्छ, ‘अब छिट्टै हुन्छ ।’

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा पार्टीका तर्फबाट बनेका मन्त्रीहरू परिवर्तन गर्ने कुनै योजना नरहेको बताउँछन् । ‘अहिलेसम्मलाई यसबारे कुनै कुराकानी भएको छैन,’ भने ।

त्यसो त कांग्रेसले पनि चाँडै निर्णय देओस् भन्ने पक्षमा प्रधानमन्त्री छन् । यदि कांग्रेसले आफ्ना पार्टीका मन्त्रीहरू फेर्ने नफेर्ने निर्णय चाँडै दिए आफू सोहीअनुसार निर्णयमा पुग्ने ओलीको तयारी छ ।

‘नेपाली कांग्रेसले के गर्छ त्यो उसको निर्णय हो । उसले नफेरे पनि एमालेतर्फका केही मन्त्रीहरू परिवर्तन हुन्छन्,’ ओलीनिकट स्रोत भन्छ, ‘पर्फमेन्सका आधारमा केहीले निरन्तरता पनि पाउन सक्ने अवस्था छ ।’ एमालेभित्र काम गर्न नसक्ने र विवादमा तानिएका मन्त्रीहरूलाई तत्काल फिर्ता बोलाउनुपर्ने मत छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम पार्टीका तर्फबाट मन्त्री परिवर्तन गर्ने नगर्ने सबै अधिकार अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीमा रहेको बताउँछन् ।

‘त्यो प्रधानमन्त्रीको विवेकमा भर पर्ने कुरा हो । त्यसमा हामीले केही भनिरहनुपर्छ जस्तो लाग्दैन,’ गौतमको भनाइ छ । २०८१ असार ३० गते कांग्रेससँगको सातबुँदे सहमतिअनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीले ३१ गते मन्त्रीहरू नियुक्त गरेका थिए ।

त्यसबेलै प्रधानमन्त्रीले मन्त्रीहरूलाई एक वर्ष काम गर्न दिने र कामका आधारमा फेरबदल गर्ने बताएका थिए ।