तिल्पुङ–धोबी सडक निर्माण नसकिँदै भत्कियो, कमसल काम गरेर भुक्तानी लिइयो

1.81K
shares

रामेछाप । रामेछापको तिल्पुङ–धोबी सडकको लिखु तामाकोसी गाउँपालिका–७ स्थित तिल्पुङ ढ्याङ्ग्रेको घुम्तीदेखि कटहरे घुम्तीसम्मको सडक निर्माण नसकिँदै ध्वस्त भएको छ ।
पूर्वाधार विकास कार्यालय मन्थलीमार्फत निर्माण भएको सो सडक निर्माण नसकिँदै ठाउँ ठाउँमा भत्किएको छ भने सडकमा गरिएको पिच अधिकांश ठाउँमा उक्किएर टालटुल पारी भुक्तानी लिइएको हो ।

२०८२ असार १७ गते काम सक्नेगरी सो कम्पनीले कूल १२ करोड ६४ लाख ५४ हजार २ सय ३३ रुपैँयामा ठेक्का सम्झौता गरेको थियो ।
आयोजना अन्तर्गत सडक विस्तार, टेवा पर्खाल तथा पिचको काम भएको छ । सडक गरिएको पिच निर्माण नसकिँदै ठाउँ ठाउँमा उक्किएपछि अधिकांश ठाउँमा टालिएको छ ।
‘पहिला हालेको पिच ठाउँ ठाउँमा भत्कियो, पछि फेरी टालटुल पारेर गए, आँखामा छारो हाल्ने काम मात्र भयो, ठाउँ ठाउँमा पहिरो झरेको छ, कतिपय ठाउँमा सडक नै झरेको छ, पर्खालहरू भत्किएर त्यस्तै छ, व्यक्तिको घरमा जानो बाटाहरू भीर बनाएर छाडिएको छ’, स्थानीय मिनुका आले मगरले भनिन् ।

सडकको अत्यावश्यक ठाउँमा संरक्षण पर्खाल नलगाउँदा गाउँ नै बग्ने जोखिम बढेको छ । तिल्पुङ ढ्याङ्ग्रेमा सडक माथिबाट चलेको पहिरोले बस्ती नै जोखिममा परेको स्थानीयको गुनासो छ । ‘पहिरो नियन्त्रणको लागि न निर्माण व्यवसायीले ध्यान दिएको छ न कार्यालयले नै चासो देखाएको छ, लगातार गइरहेको पहिरोले सवारी आवागमन र सर्वसाधारणलाई यात्रामा समेत जोखिम भएको छ, सडक निर्माणमा गर्दा गरिएको लापरबाहीको कारण १५ घर भएको बस्ती नै बग्ने अवस्थामा पुगेको छ’, लिखु तामाकोसी गाउँपालिका–७ की कार्यवाहक वडाध्यक्ष कल्पना पाण्डेले भनिन् ।

तिल्पुङको अक्कर भीरमा सडक उकास्न लगाएको ग्याभिनवाल सरेर पुरै सडक धसिन लागेको छ । सो ठाउँमा कुनै पनि बेला सडक अवरुद्ध हुने अवस्था छ । त्यसमा पनि सरोकारवालको ध्यान पुगेको छैन ।
तिल्पुङको कटहरे घुम्तीमा लगाइएको पिसिसी वाल जगैसम्म भत्किएको छ । सोही ठाउँ नजिकै लगाएको मेसिनरी वाल समेत भत्किएर सडक माथिको घर जोखिममा परेको छ ।
कार्यालय र निर्माण व्यवसायीको लापरबाहीको कारण सडक गुणस्तरीय बन्न नसकेको वडा सदस्य सरोज आले बताउँछन् । ‘हामीले पटक पटक भन्यो तर हाम्रो कुरा सुनुवाइ नै भएन’, आलेले भने ।
कमसल निर्माण सामाग्री र बलियो जग नभएको कारण वाल भत्किएको स्थानीय दीपबहादुर लुङ्गेली मगर बताउँछन् । ‘जग नै नराखी माथिबाट पर्खाल लगाए, त्यो पनि निर्माण सामग्री राम्रो भएन, त्यसैले भत्कियो’, उनले भने ।
निर्माण व्यवसायीले काम सकिसकेको कारण अब क्षति भएको संरचना बन्छ कि बन्दै भन्ने आशङ्का स्थानीयलाई छ । ‘एक वर्षसम्म भत्किएको नसिकाएको जिम्मा निर्माण व्यवसायीको हुन्छ भनेको छ, तर सबै तिर भत्किएको छ, रोड सबै बिग्रिएको छ, के बनाउलान् खै’,कार्यवाहक वडाध्यक्ष पाण्डेले भनिन् ।

यस विषयमा आयोजना सूचना पाटीमा लेखिएको निर्माण व्यवसायीको साइड इञ्चार्ज विक्रम बुढाथोकीको मोबाइल नम्बरमा फोन गर्दा मोबाइल स्विच अफ थियो ।
कार्यालयको तर्फबाट साइट हेर्ने भनि नाम लेखिएका प्राविधिक सुदिप कार्कीको नम्बरमा फोन गर्दा उनले आफूले सुरुको फेजमा काम हेरेको भए पनि पछिल्लो काम आफूले नहेरेको जानकारी दिए ।