जलविद्युतको विकास गर्न जनशक्तिलाई सीपयुक्त बनाउनुपर्छ : मन्त्री खड्का

1.76K
shares

संखुवासभा । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले सङ्खुवासभालाई जलविद्युतको केन्द्रको रूपमा विकास गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनु आवश्यक रहेको बताएका छन् ।
खाँदबारी नगरपालिका–१ मा शुक्रबारदेखि शुरु भएको २० दिने पावर हाउस सञ्चालन तथा मर्मतसम्भार सम्बन्धी तालिम उद्घाटन समारोहमा बोल्दै मन्त्री खड्काले भने,‘सङ्खुवासभा जलविद्युत ठूलो सम्भावना बोकेको जिल्ला हो ।
यहाँ अरुण तेस्रो, अपर अरुण, लोअर अरुण, अरुण चौथोजस्ता बहुचर्चित आयोजना निर्माणको चरणमा छन् । यस्ता आयोजनालाई सफल र दीर्घकालीन बनाउन प्राविधिक सीप हासिल गरेका स्थानीय युवाको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ ।
जलविद्युतका ठूला आयोजना सञ्चालनमा आउँदै गर्दा रोजगारीको अवसर स्थानीय तहमै सृजना गर्न सीप विकासमुखी तालिम अपरिहार्य रहेको समयमा तालिम संचालन हुनु प्रशंसनीय रहेको बताए ।
उनले सङ्खुवासभामा अबको प्राथमिकता स्थानीय जनतालाई घरमै तालिम दिई रोजगारीको वातावरण निर्माण गर्नु भएको उल्लेख गर्दै भने,‘सीप विकास मात्र रोजगारीको सशक्त आधार होइन, यसले आर्थिक सबलीकरण र आत्मनिर्भरताको ढोका पनि खोल्छ ।’
तालिममा जिल्लाभरका १० वटा पालिकाबाट सहभागी आएका छन् । कुल २० दिनसम्म चल्ने तालिममा १२० घण्टाको पाठ्यक्रम समेटिएको छ । तालिम पश्चात प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ, जसले सहभागीहरूलाई जलविद्युत्का आयोजनामा काम गर्ने अवसर प्राप्त गराउनेछ ।
मन्त्री खड्काले स्थानीय युवाहरूलाई प्राविधिक शिक्षामार्फत दक्ष बनाउने दीर्घकालीन लक्ष्य अन्तर्गत भविष्यमा नै खाँदबारीमै प्राविधिक शिक्षालय स्थापना गरिने योजना सुनाए ।
उनले स्वास्थ्य, निर्माण, काठमिस्त्री, पाइप जडान, विद्युतीय मिस्त्रीजस्ता विभिन्न शाखाका सीप तालिम सञ्चालन गरी व्यावसायिक क्षमता अभिवृद्धि गरिने जानकारी दिए ।
कार्यक्रम खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो । नगरप्रमुख थपलियाले तालिम कार्यक्रमले युवाहरूमा आशा, सम्भावना र आत्मनिर्भरता बोकेको बताउँदै यस्ता पहललाई नगरपालिकाले निरन्तर साथ दिने प्रतिबद्धता जनाए ।