किरन कोलीको करेन्ट लागेर निधन: राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सत्यतथ्य छानबिनको माग

5.01K
shares

बैतडी । डिलासैनी गाउँपालिका–३, गिरिवगड निवासी केशव कोलीका छोरा किरन कोलीको करेन्ट लागेर मृत्यु भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी डिलासैनी गाउँ कार्य समितिले गहिरो दुःख व्यक्त गर्दै सत्यतथ्य छानबिनको माग गरेको छ।

विन्नीगाड खोलाको घाटावगर खेलमैदान नजिकैको विद्युत लाइनमा करेन्ट लागेर घटनास्थलमै किरन कोलीको निधन भएको जनाउँदै पार्टीले उक्त घटनालाई गम्भीर रुपमा लिएको जनाएको छ। मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीले शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

रास्वपाका अनुसार सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय सुरेन्द्र बहादुर पालको प्रत्यक्ष संरक्षणमा चमेलिया नदीमा अवैध रूपमा जेसीबी प्रयोग गरी वर्षाको समयमा वालुवा उत्खनन गरिएको थियो। सोहि उत्खननका कारण विद्युत लाइनमुनि बालुवा थुपारिएको र सोही कारण किरन कोलीको ज्यान गएको उल्लेख गरिएको छ।

त्यसैगरी, घटनापछि रातारात बालुवा हटाउने प्रयास र पीडित पक्षलाई प्रलोभन दिई पाँच लाख रुपैयाँसम्मको सम्झौताका लागि दबाब दिइएको सार्वजनिक रूपमा आएको आरोपसमेत रास्वापाले लगाएको छ।

घटनालाई शुसासन र कानुनी राज्यको अपमानको रूपमा लिँदै पार्टीले दोषीमाथि छानबिन गरी कानुनी कारबाही गर्न सम्बन्धित निकाय र सरकारसँग जोडदार माग गरेको छ।