१०० भन्दा कम कामदार पठाउने मेनपावर कम्पनीहरूको नवीकरण प्रक्रिया सुरु

2.85K
shares

काठमाडौं । वार्षिक १०० कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेनपावरको नवीकरण सुरु भएको छ ।

वैदेशिक रोजगार विभागले उनीहरूको नविकरण सुरु गरेको हो ।

विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले आजदेखि नवीकरण सुरु गरिएको बताए । दुई वर्षसम्म वार्षिक १०० कामदार पठाउन नसक्ने मेनपावर व्यवसायीहरूको इजाजतपत्र रद्ध गरिने कानूनी व्यवस्था थियो ।

तर, हालै केही नेपाल ऐन संशोधनमार्फत उक्त प्रावधान खारेज गरिएको छ । खारेज गरिएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बोर्डलाई नवीकरण गर्न पत्राचार गरेको थियो ।

सोही अनुसार विभागले नवीकरण सुरु गरेको महानिर्देशक भट्टराईले बताए । उनका अनुसार नवीकरण अनलाइनमार्फत समेत गरिनेछ । त्यसका लागि मेनपावर व्यवसायीहरूले आवश्यक कागजात अनलाइनमार्फत पेश गर्नपर्ने हुन्छ ।

सोही आधारमा विभागले नवीकरण गरिदिने उनको भनाइ छ । २०७५ सालमा वैदेशिक रोजगार ऐन संशोधन गर्दै दुई वर्षसम्म लगातार वार्षिक १०० जना कामदार नपठाउने व्यवसायीको इजाजतपत्र रद्ध गर्ने व्यवस्था राखिएको थियो ।

तर, हरेक वर्ष बाधा अड्काउ फुकाउमार्फत सरकारले नवीकरण गर्दै आएको थियो ।

ऐनमा संशोधन भएपछि नियमावलीमा संशोधन हुन नसक्दा थप अन्यौलता कायम थियो । मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयसँग राय माग गरेको थियो ।

महान्यायाधिवक्ता कार्यालयले पुरानो कानूनी व्यवस्थाको अयोग्यता निष्क्रीय भएकाले त्यसरी वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्रवालाहरूको नवीकरण गर्नका लागि कुनै कानूनी बाधा नरहेको राय दिएको थियो ।

सोही आधारमा साउन २६ गते मन्त्रीस्तरीय निर्णय गर्दै श्रम मन्त्रालयले नवीकरण गराउन विभागलाई पत्राचार गरेको थियो ।