जीबी राईका जेठानलाई धरौटीमा छोडेपछि सहकारी पीडित आक्रोशित, अदालतको आदेश खारेजीको माग

2.44K
shares

सहकारी ठगि काण्डमा रबि लामिछाने जेलमा छन् तर जीबी राईका जेठान पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष ज्ञान बहादुर बम्जनलाई अदालतले धरौटीमा छोडेपछि पीडित बचतकर्ताहरू आक्रोशित भएका छन् । आइतबार कास्की जिल्ला अदालतले उनलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियाे ।
आइतबार बमजन बिहान अदालत उपस्थित भएर साँझ धरौटीमा छुटेका हुन् । यसले न्याय प्रणालीमाथि नै गम्भीर प्रश्न उठेको पीडितहरूको आरोप छ । सरकारी वकिलको उपस्थितिविना नियोजित ढङ्गले उन्मुक्ति दिनुमा उनीहरुले सेटिङ देखेका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै उनीहरूले उक्त निर्णय खारेज गरी पुनः बहस गराउन माग गरेका छन् ।

सूर्यदर्शन पीडित सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठले सरकारवादी मुद्दामा बहस हुँदा सरकारी वकिलको उपस्थिति अनिवार्य हुनुपर्नेमा बमजनको मुद्दामा उपस्थिति नभएको दाबी गरे । तर, अदालतबाट जारी आदेशमा भने नेपाल सरकारको तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता सुजाता पौडेल उपस्थित भएको दाबी गरिएको छ ।

‘हामी बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म अदालत परिसरमै थियौँ । बहस चलिरहँदा प्रतिवादी र जाहेरवालाका वकिल मात्र थिए । सरकारी वकिलको तर्फबाट कोही पनि आएनन्,झ उनी भन्छन्, ’अदालतको आदेशमा उपस्थित भएको भनेर नाम लेखिन्छ भने यसलाई सेटिङ नभनेर के भन्ने ? यो त प्रमाण नै नष्ट गर्ने र न्याय मार्ने खेल भयो ।झ पीडितहरूले उक्त दिनको अदालतको सीसीटिभी फुटेज सार्वजनिक गर्न र न्यायपरिषद्ले यस घटनाको गम्भीर छानबिन गर्न माग गरेका छन् ।

जिल्ला न्यायाधिवक्ताको कार्यालयले समेत आफूहरूलाई अदालतबाट जानकारी नै नआएको जवाफ दिएको छ ।

अदालतले तोकेको १० लाख रुपैयाँ धरौटी रकम अत्यन्तै शङ्कास्पद रहेको उनीहरूको गुनासो छ । यही प्रकरणमा पक्राउ परेका सहकारीका तत्कालीन उपाध्यक्ष देवकुमार नेपालीलाई २० लाख रुपैयाँ धरौटी तोकिएको थियो । संस्थाका संस्थापक अध्यक्षलाई सामान्य रकममा छोड्नुमा शङ्का रहेको श्रेष्ठले बताए ।

केमा छ कैफियत ?

बम्जनको बयानमा उनले ‘मौकाको बयान’ सही भएको स्वीकार गरेको उल्लेख छ । तर, ‘मौकाको बयान’ प्रहरीले पक्राउ गरेपछि लिइने बयान हो ।

बम्जन आफैँ अदालतमा हाजिर भएकाले उनलाई प्रहरीले कहिल्यै पक्राउ गरेर बयान नलिएको अवस्थामा ‘मौकाको बयान’ उल्लेख गर्नु गलत प्रष्ट देखिने पीडितहरू बताउँछन् ।

अर्का पीडित भीमप्रसाद चपाईंले न्याय प्रणाली र राजनीतिक दलहरू मिलेर गरिबको पैसा लुटेको आरोप लगाए । ’सरकारवादी मुद्दामा सरकारी वकिल नै नआउनु भनेको सबै मिलेर सेटिङ गरेको हो भन्ने स्पष्ट भयो,झ उनले भने, ’हामी अन्याय सहदैनौँ । अब म एक थोपा रगत भए सम्म बेचेर लड्छु, तर यो अन्यायविरुद्ध आवाज उठाउन छाड्दिनँ ।’

उनले मुख्य अभियुक्त जीवी राईलाई समेत राजनीतिक संरक्षणमा लुकाइएको र अहिले उनका नातेदारलाई पनि सामान्य प्रक्रिया पूरा गरेर उन्मुक्ति दिन खोजिएको आरोप लगाए ।